समाचारदाता
नेपालगन्ज, माघ १५ । बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका नेता कमरुद्दीन राइले मतदाताको घरघरमा पुगेर आफ्नो उम्मेदवारीको कारण र आगामी दिनको योजना बारे जानकारी गराउन थाल्नु भएको छ । उहाँले टोल टोलमा पुगेर आफुले किन नेपालगन्जको उपमेयर पदबाट राजिनामा दिएर चुनावी मैदानमा आएको भन्ने बारेमा मतदातालाई जानकारी गराईरहनुभएको छ ।

उम्मेदवार राईले मधे आन्दोलन र मधेशी सहीदहरुको बलिदानबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्न र मधेशीहरुको हकहितलाई अगाडी बढाउन आफुले उपमेयरको पद त्याग गरेको कुरा मतदाताहरुसमक्ष जनाउँदै हुनुहुन्छ । उहाँले मधेशी जनताको अधिकारका लागि आफुले कुर्सि र सत्ता मोह त्याग गरेको पनि प्रष्ट पार्दै आउनु भएको छ ।

कमरुद्दीन राइको टोलीलाई जनताले ठाउँ ठाउमा राम्रो स्वागत र सम्मान गरिरहेको उहाँको प्रचार टीममा रहनु भएका लुम्बिनी प्रदेशसभाका सदस्य अम्बिका काफ्लेले बताउनुभयो । उहाँले राईलाई हरेक समुदायको सहयोग प्राप्त भइरहेको बताउनुभयो । जनतालाई अब भाषण होइन काम चाहिएको जनाउँदै प्रदेशसभा सदस्य काफ्लेले भाषण गर्ने र काम गर्नेलाई जनताले चिनिसकेको पनि बताउनुभयो ।


