समाचारदाता
नेपालगन्ज, माघ १६ गते । बाँके क्षेत्र नम्बर २ का युवा उम्मेदवार दिपेन्द्र विष्टले स्थानीय मतदातासंगको संवाद र भेटघाटलाई निरन्तर जारी राख्नु भएको छ । उहाँले जनतासंगको भेटघाटसंगै विभिन्न वडामा सम्पर्क कार्यालयहरु पनि स्थापना गर्दै आउनुभएको छ । सोही क्रममा उहाँको उपस्थितिमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। उत्साहपूर्ण वातावरणबीच सम्पन्न भएको उद्घाटन कार्यक्रममा जनताको उल्लेखनीय सहभागिता थियो।

कार्यालय उद्घाटनपछि उम्मेदवार विष्टले स्थानीय जनतासँग प्रत्यक्ष साक्षात्कार गर्दै वडाका विद्यमान समस्या र आवश्यकताबारे गहिरो संवाद गर्नुभयो। जनताले सडकको अवस्था, ढल व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवामा देखिएका कमजोरीहरू खुलेर राखेका थिए। ती आवाजहरू ध्यानपूर्वक सुन्दै विष्टले आधारभूत आवश्यकतालाई आफ्नो प्रमुख एजेन्डा बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो।

“विकास भाषणले होइन, जनताको पीडा सुनेर र समाधान गरेर हुन्छ,” भन्दै उहाँले वडाको दिगो विकासका लागि स्थानीय सहभागिता र पारदर्शी काम गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। जनजीवनसँग प्रत्यक्ष जोडिएका मुद्दामा प्राथमिकता दिने उहाँको भनाइले उपस्थित समुदायमा आशा र विश्वास थपिएको देखिन्थ्यो।

स्थानीयवासीहरूले उम्मेदवार विष्टको सरल व्यवहार, सुन्ने क्षमता र समस्याप्रति देखाएको संवेदनशीलतालाई सकारात्मक रूपमा लिएका छन्। कार्यालय उद्घाटन केवल चुनावी गतिविधि नभई जनतासँग जोडिने एउटा साझा थलो बनेको प्रतिक्रिया स्थानीयहरूको थियो। बाँके २ का वडा वडामा चलिरहेको यो जनसंवादले यो क्षेत्रमा परिवर्तनको यात्रालाई थप गति दिने अपेक्षा गरिएको छ।
भेटघाट र संवादका क्रममा स्थानीय बासिन्दाको उत्साह र सहभागिताले आफु पनि उत्साहित बन्दै गएको उम्मेदवार विष्टले बताउनुभयो ।
