समाचारदाता
नेपालगन्ज, माघ २३ । नेपाली कम्युनिष्ट पार्टीको तर्फबा बाँके क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका युवा उम्मेदवार दिपेन्द्र बिष्टले शुक्रबार डुडुवा गाउँपालिका केन्द्रित घरदैलो र भेटघाट गरेका छन् । भेटघाटका क्रममा उनी डुडुवा ५ का विभिन्न टोल–बस्तीमा पुग्दै स्थानीय जनतासँग प्रत्यक्ष संवादमा सहभागी भए ।

चुनावी औपचारिकताभन्दा माथि उठेर जनताको पीडा, समस्या र अपेक्षालाई नजिकबाट बुझ्न् उनको प्रयास छ । घरको आँगन, चौतारो र खेतको डिलमै उभिएर बिष्टले बृद्ध–वृद्धा, महिला, युवा तथा किसानहरूसँग खुलेर कुरा गरे। सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा जनताले राखेका गुनासोहरु सुन्ने गरेका छन् । ‘नेता चुनावमा मात्रै होइन, हाम्रो दैलोमै आएर कुरा सुन्ने हो भने आधा समस्या त्यही समाधान हुन्छ,’ उनले सन्तोष व्यक्त गर्दै भने ।

डुडुवा–५ का बासिन्दाले यहाँको विकास सम्भावना हुँदा हुँदै पनि राज्यको ध्यान नपुगेको गुनासो गरेका छन् । युवाहरूले रोजगारीको अभावले गाउँ रित्तिँदै गएको पीडा सुनाए भने किसानहरूले सिँचाइ र बजार व्यवस्थापनको अभाव औँल्याएका छन् । ती आवाजहरू सुन्दै उम्मेदवार बिष्टले जनताको पीडा आफ्नै पीडा भएको अनुभूति गराउँदै समाधानका लागि संसदमा बलियो आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संक्षिप्त प्रतिक्रिया दिँदै बिष्टले भने, “डुडुवा केवल भोटको केन्द्र होइन, यहाँका समस्या मेरो जिम्मेवारी हुन्। जनतासँग प्रत्यक्ष बसेर कुरा नगरी नीति बनाउनु अर्थहीन हुन्छ। यहाँ उठेका हरेक विषयलाई म आफ्नो कार्ययोजनामा समेट्नेछु।”उनको यो भनाइले स्थानीयमा भरोसा थपिएको देखिन्थ्यो ।

डुडुवामा गरिएको यो अवलोकन र प्रत्यक्ष भेटघाटलाई स्थानीयहरूले केवल चुनावी कार्यक्रम मात्र नभई, सुन्ने र बुझ्ने नेतृत्वको संकेत का रूपमा लिएका छन्। भाषणभन्दा संवाद र आश्वासनभन्दा प्रतिबद्धतालाई प्राथमिकता दिने दिपेन्द्र बिष्टको शैलीले डुडुवामा आशा र अपेक्षाको नयाँ तरंग पैदा गरेको छ।

सोही प्रकारले उम्मेदवार विष्टले नेपालगन्जमा पनि शुक्रवार घरदैलो र भेटघाट गरेका छन् । शुक्रवार मुस्लिम समुदायको बिशेष नमाज हुने भएकोले उनले मस्जिदको गेटमा पुगेर मतदातासंग भेट गर्दै सदभाव र मेलमिलापको नमुना पेश गरेका थिए । सो अवसरमा उनले जिल्लामा सदभाव र शान्तिका लागि नेकपालाई सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

