२४ माघ २०८२, शुक्रबार

विकास र सदभावको यात्रालाई अघि बढाउन सहयोग मागेको पुर्व मन्त्री राईको मतदातासंग आग्रह

विकास र सदभावको यात्रालाई अघि बढाउन सहयोग मागेको पुर्व मन्त्री राईको मतदातासंग आग्रह

समाचारदाता
नेपालगन्ज, माघ २३ । नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले विकासको यात्रालाई अगाडी बढाउनका लागि आफुलाई मतदान गर्न क्षेत्रका मतदातासंग आग्रह गरेका छन् । नेपालगन्ज २१ पुरैनीमा शुक्रबार नेकपा एमालेको निर्वाचन लक्षित कार्यालय उद्घाटन कार्यक्रम र विभिन्न स्थानमा घरदैलो गर्दै पूर्व मन्त्री राईले हालसम्म क्षेत्रको विकास जसले गर्यो उसैलाई थप विकासका लागि मतदान गर्न अनुरोध गरे ।


उनले विकास निर्माणसंगै युवाहरूलाई कामकाजी बनाउँदै आवश्यक आयआर्जन गर्न सक्षम गराउन सक्ने योजना ल्याउने आफ्नो ठुलो प्रयास हुने बताए । अरूले जस्तो झुठो आश्वासन र अति महत्वाकांक्षी कुराहरू आफूले नगर्ने जनाउँदै राईले किसानहरूले सहज र सस्तो मल पाउने वातावरण बनाउने दाबी गरे । उनले भने “चुनाव जित्नकै लागि अरूले जस्तो मल फ्याक्ट्री खोल्छु भनेर म झुठो आश्वासन दिँदैन । तर, यत्ति चाहिँ भन्छु कि किसानले चाहिएको बेलामा सहज र सस्तोमा मल पाउने वातावरण बनाउन म हर संभव प्रयास र काम गर्नेछु।”


निर्वाचन क्षेत्र नम्बर २ मा २०७४ सालमा आफू सांसद भएपछिको ५ वर्षे कार्यकाल र आफू पराजित भएपछिको पछिल्लो ३ वर्षको तुलना गरेर मूल्यांकन गर्न पनि मतदातासमक्ष राईले आग्रह गरे । ‘‘मेरो जित हुँदाको समय र मेरो पराजय भएपछिको समय तुलना गर्दा नै स्पष्ट हुन्छ यहाँ कसले काम गर्छ, कसले काम गर्दैन’’ राईले भने ।


पछिल्लो तीन बर्षमा समाजमा झगडा गराउने र विभाजन ल्याउने थुप्रै घटनाहरू बाँकेमा भएको उदाहरणहरू दिँदै राईले आफू सधैं नै धार्मिक सद्भाव र एकताको पक्षमा अडिग रहेको बताए । निर्वाचन जित्नका लागि समाजमा विभाजन ल्याउन चाहनेहरूलाई समाजले चिन्नुपर्ने उनको भनाई थियो । आफूले यस पटक उल्लेख्य मत ल्याएर विजयी हुने संकेत गर्दै राईले २०७९ को निर्वाचनमा २०७४ सालको भन्दा धेरै मत ल्याए पनि अन्य सबै दलहरू मिल्दा आफू पछि परेको बताए ।


पराजित मानसिकताबाट ग्रसितहरुले हरेक नराम्रो काममा आफुलाई जोड्ने गरेको उल्लेख गर्दै उनले तर बाँके क्षेत्र नम्बर २ का आम जनताले आफुलाई राम्ररी चिनेको र जानेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *