समाचारदाता
नेपालगन्ज, माघ २५ । बाँके क्षेत्र नम्बर २ का जनता समाजवादी पार्टी नेपालका उम्मेदवार कमरुद्दिन राईले निर्वाचनमा नसोचेको परिणाम आउने चेतावनी दिंदै आफुलाई आफै विभिन्न नामले सम्बोधन गर्नेहरु नराम्ररी पराजित हुने बताउनुभएको छ । उहाँले जनताले राम्ररी चिनि सकेकालाई कुनै पनि हालतमा मत नदिने दावी गर्नुभयो ।
नेपालगन्जका निवर्तमान उपमेयर राईले आफ्नो विरुद्ध अफवाह फैलाइएको भन्दै त्यसप्रति स्पष्ट प्रतिक्रिया दिएका छन्। चुनावी प्रतिस्पर्धामा आफू बलियो अवस्थामा रहेपछि केही दलका उम्मेदवारले योजनाबद्ध रूपमा आफ्नो बारेमा अफवाह फैलाएको उनको दाबी छ।

राईले अन्तिम समयसम्म कसैलाई समर्थन नगर्ने र जित्ने उद्देश्यसहित नै चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे। “म जित्नकै लागि चुनाव लडेको हुँ। हार्ने अवस्था सिर्जना भएपछि केही उम्मेदवारले मेरो बारेमा अफवाह फैलाएर मत माग्न थालेको सुनेको छु,” उनले भने। आफूविरुद्ध अफवाह फैलाउनेलाई खुला बहसमा आउन चुनौती दिँदै राईले राजनीतिक संस्कार देखाउन आग्रह गरे। “दम छ भने त्रिभुवन चोकमा खुला बहस गरौं। सिधा कुरा गरौं। होइन भने मेरो बारेमा अफवाह फैलाउने काम बन्द गरौं,” उनले भने।

जिताउने र हराउने अधिकार मतदाताकै हातमा रहेको उल्लेख गर्दै राईले जनताको चाहनाअनुसार नै नतिजा आउने जिकिर गरे। “जिताउने र हराउने जिम्मा मतदाताको हो। जनताले चाहें जिताउने छन्। कसैले भन्दैमा म हार्दिन,” उनले भने। साथै, अफवाह फैलाउनेहरू हारको मानसिकताबाट ग्रसित भएको टिप्पणी पनि गरे। राईले अन्तिम समयसम्म चुनावी प्रतिस्पर्धामा दृढतापूर्वक उभिने बताए। “म कसैको दबाब वा प्रभावमा परेर समर्थन गर्दिन। कुनै भ्रममा नपरी विवेकपूर्ण मतदान गर्न म सबै मतदातासँग आग्रह गर्छु,” उनले भने।

उम्मेदवार राईले क्षेत्र नम्बर २ को डुडुवा र नेपालगन्जमा घरदैलो र मतदाता भेटघाटलाई निरन्तरता दिएका छन् । उनले जनताबाट पाइरहेको माया र स्नेहले आफु निकै उत्साहित बनेको बताएका छन् ।
