समाचारदाता
नेपालगन्ज, माघ २६ । नेपाली कम्युनिष्ट पार्टीका युवा उम्मेदवार दिपेन्द्र विष्टको घर दैलो र मतदाता भेटघाटले अहिले बाँके क्षेत्र नम्बर २ मा नयाँ रौनक र उत्साह थपिएको छ । बिष्टको चुनावी अभियान केवल प्रचारमा सीमित देखिँदैन, यो जनताको मनसम्म पुग्ने यात्रामा रूपान्तरण हुँदै गएको छ । सोही यात्राको क्रममा उहाँले एकपछि अर्को गरि विभिन्न वडामा सम्पर्क कार्यालयहरु पनि स्थापना गर्दै अघि बढ्नु भएको छ ।
सोमवार नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ मा विष्टको निर्वाचन प्रचारप्रसार सम्पर्क कार्यालयको उद्घाटन सम्पन्न भएको छ ।

स्थानीयको उल्लेखनीय उपस्थितिमा सम्पन्न उद्घाटन कार्यक्रम केवल रिबन काट्ने औपचारिकतामा सीमित रहेन । सा अवसर पनि जनताको आकांक्षा र इच्छा बुझ्ने माध्यम बन्यो । कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अकल बहादुर बम, नेता डिल्ली बराल, समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा, जामिया खातुन लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो । उपस्थित सबैको एउटै सन्देश थियो—यो चुनाव जनताको आवाज सुन्ने नेतृत्वका लागि हो।उद्घाटन सम्पन्न भए लगत्तै उम्मेदवार बिष्ट नेपालगन्ज वडा नं. ११ मा घरदैलो अभियानमा निस्कनुभयो ।

वडा नम्बर ११ को घरघर र पसल पसलमा पुगेर बिष्टले आफुलाई नेता होइन सेवक र आफन्त सम्झेर एक पटक मौका दिन अनुरोध गर्नुभयो । उहाँ टोल–टोल पुगेर मतदातासँग हात मिलाउँदै, आँखामा आँखा जुधाउँदै उनीहरूको कुरा सुन्न व्यस्त देखिनुहुन्थ्यो । कतै सडकको समस्या, कतै रोजगारीको चिन्ता, कतै छोराछोरीको भविष्य—जनताले आफ्ना मनका भारी उहाँसँग पोखे ।
घरदैलोका क्रममा बिष्टको सरल बोली, धैर्यपूर्वक सुन्ने बानी र विनम्र व्यवहारले स्थानीयलाई आकर्षित गरेको पाईयो । एक स्थानीय वृद्धले भन्नुभयो, “धेरै नेता आए, भाषण गरे र गए तर आज चाहिँ कुरा सुन्ने मान्छे आयो जस्तो लाग्यो ।”

युवा उम्मेदवार बिष्टले विकास, रोजगारी, शिक्षा र सामाजिक न्यायलाई आफ्नो मूल एजेन्डा बनाउँदै आएका छन् । तर त्यो एजेन्डा कागजमा सीमित छैन, घरदैलोमा प्रत्यक्ष संवादमार्फत जनताको जीवनसँग जोडिँदै गएको देखिन्छ । महिलाहरू स्वास्थ्य र सुरक्षाको कुरा राखिरहेका छन्, युवाहरू अवसर र सम्भावनाको खोजीमा छन्, ज्येष्ठ नागरिक सम्मान र भरोसाको चाहना व्यक्त गरिरहेका छन र बिष्ट ती सबै आवाजलाई एउटै धागोमा गाँस्ने प्रयासमा देखिनुहुन्छ ।

पछिल्ला दिनहरुमा विष्टले गर्नु भएको मतदाता भेटघाट र घरदैलोमा जनताको साथ र सहयोग पाएको जनाउँदै उम्मेदवार विष्टले जनता परिवर्तनसंगै गणतन्त्र, धर्म निरपेक्षता तथा विकासको पक्षमा रहेको पाईएको बताउनुभयो । उहाँले जनताका यी सबै चाहना प्रचण्डको नेतृत्वमा रहेको नेपाली कम्युनिष्ट पार्टीले मात्रै पुरा गर्न सक्ने बताउनुभयो ।
