समाचारदाता
नेपालगन्ज, माघ २७ । निर्वाचनको मिति नजिकिंदै गर्दा बाँके क्षेत्र नं २ मा चुनावी सरगर्मी बढ्दै गएको छ । सो क्रममा विभिन्न उम्मेदवारले मतदाता भेटघाट र घरदैलोको पहिलो चरणलाई तिव्र पारेका छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दिपेन्द्र बिष्टले पनि जनतासँग प्रत्यक्ष भेटघाटलाई निरन्तरता दिनुभएको छ। यही क्रममा उहाँले मंगलवार डुडुवा गाउँपालिका–५ र नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ का विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग आत्मीय संवाद गर्नुभएको छ।

भेटघाटका क्रममा उम्मेदवार बिष्टले स्थानीय बासिन्दाका दैनिकीसँग जोडिएका समस्या, आवश्यकता र अपेक्षाहरू ध्यानपूर्वक सुन्नुभयो। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी र युवाका अवसरजस्ता विषयमा केन्द्रित छलफलले जनतासंग उहाँलई प्रत्यक्ष जोड्न ठुलो सहयोग गरेको छ ।

डुडुवा–५ मा भएको भेटघाटमा ग्रामीण जीवनका चुनौतीहरूबारे खुलेर स्थानीयले कुरा राखेका थिए। किसान, मजदुर र सर्वसाधारणले आफ्ना समस्या राख्दा बिष्टले “समय अनुसार र प्राथमिकताका आधारमा जनताका माग पूरा गरिनेछ” भन्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँको यो भनाइले उपस्थित स्थानीयमा आशा र भरोसा थपिएको देखिन्थ्यो।

यस्तै, नेपालगन्ज–६ मा भएको जनभेटघाटमा शहरी समस्याहरू—ढल व्यवस्थापन, रोजगारी, युवाको भविष्य र सामाजिक सेवाका विषयहरू प्रमुख रूपमा उठेको विष्टले स्वयं बताउनुभयो। उहाँले सबै सुझावलाई आफ्नो कार्यसूचीको आधार बनाउने र प्रतिनिधि बनेपछि व्यवहारमै देखिने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

स्थानीय मतदाताहरूका अनुसार दिपेन्द्र बिष्टको कुरा गर्ने शैली सरल, स्पष्ट र जिम्मेवार छ। उहाँ वाचा मात्र गर्नुहुन्न, कहिले र कसरी गर्ने भन्ने योजना पनि प्रष्ट रुपमा बताउनु हुन्छ ।
डुडुवा–५ र नेपालगन्ज–६ मा देखिएको यो जनसमर्थन र संवादले बाँके क्षेत्र नं २ मा बिष्टप्रति बढ्दो विश्वासलाई अझ स्पष्ट बनाएको छ। जनताको कुरा सुन्ने, समयमै काम गर्ने र व्यवहारबाट प्रमाणित गर्ने प्रतिबद्धताले उहाँको चुनावी अभियानलाई थप मजबुत बनाउँदै लगेको स्थानीय विश्लेषकहरूको बुझाइ छ।
