समाचारदाता
नेपालगन्ज, माघ २८ । बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुर्वमन्त्री मोहम्मद इस्तियाक राई अहिले बाँके २ मात्र नभइ पश्चिम नेपालकै अत्यधिक चर्चित उम्मेदवार हुनुहन्छ । क्षेत्र नम्बर २ को सम्पूर्ण निर्वाचन उहाँकै वरिपरि घुमिरहेको छ । निर्वाचनमा सहभागि सबै प्रमुख दलहरुले पुर्वमन्त्री राईलाई नै मुख्य प्रतिष्पर्धी मानेर प्रचार प्रसारमा जुटेका छन् ।

राईले आफ्नो चुनावी अभियानलाई तिब्र पारेपछि जताततै उहाँकै चर्चा परिचर्चा हुन थालेको हो । उहाँ घरदैलोमा पुग्दा युवादेखि वृद्ध वृद्धासम्मको सक्रिय सहभागिताले चुनावी माहोल तातिएको छ । उम्मेदवार राई घरदैलोमा पुग्दा अधिकांश मतदाताले विकास र सदभावको नाममा उहाँलाई नै समर्थन तथा सहयोग गर्ने आश्वासन दिने गरेकोले उहाँ अत्यधिक उत्साहित हुनुहन्छ ।

सोही क्रममा राईले बुधवार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र ४ मा प्रचार प्रसार तथा जन्सम्पर्क कार्यालयको उदघाटन गर्नुभयो । सो क्रममा उहाँले नेपालगन्ज १ स्थित धम्बोझीको विभिन्न बस्तीको घरदैलोमै पुगेर मतदाताहरूसँग भेटघाट गर्नुभयो । सो अवसरमा मतदाताहरुले रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सामाजिक सुरक्षासँग सम्बन्धित विभिन्न समस्या खुलस्त रुपमा राखेका थिए । उनीहरुले स्थानीयस्तरमा देखिएका चुनौती समाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

धम्बोझीमा आयोजित एमाले निर्वाचन प्रचार प्रसार कर्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री राईले आफुले गरेको विकासको कामलाई जनताले महसुस गरेको दाबी गर्दै बाँकी रहेका कामहरु गर्नका लागि पुनः उम्मेदवार बनेको बताउनुभयो । उहाँले पछिलो ३ वर्षे कार्यकाल र आफ्नो विगतको कार्यकालको तुलना गरेर मूल्यांकन गर्न पनि मतदाताहरू समक्ष आग्रह गर्नुभयो । आफू विगतमा सानो पार्टीमा रहँदा समेत बाँकेमा उल्लेख्य विकास निर्माणका आयोजनाहरू ल्याउन सफल भएको उहाँले बताउनुभयो ।

सोही प्रकारले बुधवार साँझ नेपालगन्ज ४ मा पनि प्रचार प्रसार कार्यालयको उदघाटन गर्दै उहाँले आफुले उठाएका ऐजेण्डा र बिषयलाई अन्य दलका उम्मेदवारले पनि कपी गरेर उठाएको जनाउँदै त्यसबाटनै आफ्नो ऐजेण्डा सही र जनताको पक्षमा रहेको पुष्टि गरेको बताउनुभयो । उहाँले नेपालगन्जमा एक क्रिकेट स्टेडियमको अतिनै खाँचो रहेको र धेरै पहिलेदेखि खेलाडीको माग पनि रहेकोले आफु विजयी भएको एक वर्षमा नै क्रिकेट मैदान निर्माण कार्य शुरु गराउने बताउनुभयो ।

चुनावी अभियानमा उम्मेदवार राईसंगै हिडिरहेका नेकपा एमाले बाँकेका सचिवालय सदस्य शकील खानका अनुसार सहरी र ग्रामीण दुबै क्षेत्रमा एमालेप्रति जनलहर बढ्दै गएको छ । प्रचार प्रसारको क्रममा जनताको सक्रिय सहभागिता र उत्साहले पार्टीको पक्षमा सकारात्मक वातावरण सिर्जना हुदै गएको देखिएको बताउनुभयो ।

नेपालगन्जमा आयोजना हुने विभिन्न कार्यक्रममा पुर्वमन्त्री राईले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका धम्बोझीका दुईजना युवाप्रति श्रद्धान्जली व्यक्त गर्दै उनीहरूको सम्मानमा आफूबाट हुनसक्ने सहयोग गर्न इच्छुक रहेको जनाउँदै आउनु भएको छ। शहीद युवाहरूको सम्मानमा शहीद गेट र शालिक बनाउने वडा नम्बर १ को निर्णयप्रति उहाँले समर्थन जनाउँदै अन्य कामहरु पनि गर्न सकिने बताउनुभएको छ ।
