समाचारदाता
नेपालगन्ज, फागुन ४ । बाँके क्षेत्र नम्बर २ बाट एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले सोमवार आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
नेपालगन्जमा आयोजित एक बृहत्त कार्यक्रममा पूर्वमन्त्री राईले “समृद्ध नेपालगन्ज–डुडुवा हाम्रो प्रतिबद्धता” भन्ने मुख्य नाराकासाथ प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेका प्रतिवद्धताहरुमा नेपालगन्जमा क्रिकेट स्टेडियमको निर्माण, नेपालगन्ज–नयाँ दिल्ली हवाई उडान, आकाशे पुल र रिंगरोड निर्माण, डुडुवामा बाढी र डुबान नियन्त्रण, सिक्टा सिंचाईलाई ५ वर्षमा सम्पन्न गर्ने, बेतहनी–होलिया–चौफेरी–नरैनापुर जोड्ने सडक र पुलहरु निर्माण तथा राप्ती नदीको पानी नेपालगन्ज पुरयाएर खानेपानी सहज गरिने लगायतका प्रतिवद्धताहरु प्रमुख रहेका छन् ।
यसका साथसाथै प्रतिवद्धता पत्रमा जनताका अतिआवश्यक बेसिक आवश्यकताहरु स्वास्थ्य सेवामा सुधार, शिक्षामा सुधार, आवासको व्यवस्था, समयमै मलखाद्य उपलब्ध गराउने, बिद्युत आपूर्तिमा सहजता र रोजगारीका अवसर सृजना सम्बन्धि बिषयहरु पनि प्रमुख प्राथमिकताका साथ समेटिएका छन् ।

पूर्वमन्त्री राईको प्रतिवद्धता पत्रमा पूर्वाधार तथा सहरी विकास, औद्योगिक, व्यापारिक र रोजगार, शैक्षिक, स्वास्थ्य, कृषि तथा अनुसन्धान, सामाजिक सुरक्षा, धर्म संस्कृति संरक्षण, पर्यटन, सु–शासन र प्रविधि, सामाजिक न्याय तथा समावेशी विकास एवं व्यवस्थित बसोबास शीर्षकमा ११ वटा प्रतिबद्धता राखिएका छन् ।

त्यसैगरी गरिबी न्यूनिकरण र मानव विकास, शिक्षा र सामाजिक जागरण, धार्मिक सद्भाव र सामाजिक एकता, पर्यटन, सहरी व्यवस्थापन र आर्थिक अवसरका साथै लागूऔषध नियन्त्रण र सुरक्षित समाज शीर्षकमा थप ५ वटा नीतिगत सुधार सम्बन्धी प्रतिबद्धताहरु पनि प्रतिवद्धता पत्रमा समेटिएका छन् ।
सो अवसरमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिंदै उनले संघियतापछि २४ जिल्लाको केन्द्र नेपालगन्जलाई बेवास्ता गरिएको जनाउँदै बिराटनगर राजधानी बन्न सक्ने तर नेपालगन्ज नबन्ने कुनै पनि कारण नरहेको प्रष्ट पारे ।

उनले बेवास्तामा परेको नेपालगन्जलाई शिक्षा, स्वास्थ्य, खेलकुद, उद्योगको हब एवं पर्यटनको द्धार बनाएर चलायमान सहरका रुपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताए ।
आफूले विगतमा सांसद र मन्त्रीको भूमिकामा रहँदा विकास निर्माणका धेरै काम गरेर देखाएको स्मरण गराउँदै उनले फेरि पनि जनताबाट अनुमोदित भएर गएमा नेपालगन्ज र डुडुवाको समृद्धिका लागि काम बढी भन्दा बढी काम गर्ने बताए ।

सो कार्यक्रममा नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुंग, एमालेका नेता अजय टन्डन र क्षेत्र नम्बर २ का निर्वाचन प्रचार प्रसार संयोजक भाष्कर काफ्लेले पनि पूर्वमन्त्री राईले गरेर देखाएको हुँदा सबैको विश्वास उनिप्रति नै रहेको बताएका थिए ।
