समाचारदाता
नेपालगन्ज, फागुन ७ । बाँके क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट नेपालगन्ज उपमहानगरपालिका–१४ अन्तर्गत बाले गाउँमा घरदैलो अभियानका क्रममा प्रचारप्रसार टोलीसहित गाउँ पुगेको बेला स्थानीय बासिन्दासँग संवाद गर्दै खेततर्फ लाग्नुभयो। त्यहाँ आलु र तरकारी व्यवस्थापन व्यस्त किसानसँग हातेमालो गर्दै उहाँले श्रमको सम्मान र किसानप्रतिको प्रतिबद्धता व्यवहारमै देखाउनुभयो। उम्मेदवार आफैं खेतको माटोमा उत्रिएपछि किसानहरू आश्चर्य र खुशी दुवै देखिन्थे।

एक किसानले भावुक हुँदै भने, “हामीलाई चुनावमा धेरैले भेट्छन्, तर खेतमै आएर सघाउने नेता विरलै देखिन्छ। आज हामीले फरक अनुभव गर्यौँ।” किसानहरूको यही प्रतिक्रिया बिष्टको व्यवहारले उनीहरूलाई कति प्रभावित बनायो भन्ने स्पष्ट संकेत थियो।
खेतमा सघाउँदै बिष्टले कृषि क्षेत्रलाई उत्पादनमुखी, व्यवस्थित र प्रविधिमैत्री बनाउन आवश्यक नीतिगत पहलको कुरा पनि राख्नुभयो। सिँचाइको समस्या, मल–बीउको उपलब्धता र बजार सुनिश्चितताको विषयमा किसानसँग खुला छलफल गर्दै दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। घरदैलो अभियानका क्रममा बाले गाउँका टोल–टोलमा देखिएको उत्साह र खेतमै देखिएको आत्मीय दृश्यले चुनावी माहोललाई थप सकारात्मक बनाएको छ। स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मले उम्मेदवारको सरल स्वभाव, नम्र व्यवहार र श्रमप्रतिको सम्मानलाई प्रशंसा गरेका छन्।

कार्यक्रमपछि प्रतिक्रिया दिँदै बिष्टले भन्नुभयो, “किसानको पसिना नै देशको आधार हो। उनीहरूको दुःख–सुख बुझेर काम गर्नु मेरो दायित्व हो।” उहाँका अनुसार राजनीति केवल भाषण र नारामा सीमित हुन नहुने, जनताको जीवनसँग जोडिएर अघि बढ्नुपर्ने समय आएको छ।नेपालगन्ज–१४ को बाले गाउँमा देखिएको यो दृश्यले चुनावी अभियानलाई केवल प्रचारको कार्यक्रम नभई विश्वास र सम्बन्ध निर्माणको यात्रामा रूपान्तरण गरेको विश्लेषकहरू बताउँछन्।

