१० फाल्गुन २०८२, आईतवार

नेकपाका उम्मेदवार दिपक जिएमको सङ्कल्प पत्रमा क्षेत्रको समग्र विकासको कार्यदिशा प्रस्तुत

नेकपाका उम्मेदवार दिपक जिएमको सङ्कल्प पत्रमा क्षेत्रको समग्र विकासको कार्यदिशा प्रस्तुत

समाचारदातता
नेपालगन्ज, फागुन १० । बाँके निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक जिएमले समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको छ । निर्वाचन परिचालन समितिका संयोजक राजकुमार विकको अध्यक्षतामा खजुरा गाउँपालिका–१ स्थित पुरानो गोदावरी कटेजमा आइतबार आयोजित कार्यक्रममा उक्त सङ्कल्प पत्र सार्वजनिक गरिएको हो ।
पत्रकारहरूमाझ सार्वजनिक गरिएको सङ्कल्प पत्रमा क्षेत्र नं ३ को समग्र विकासका लागि स्पष्ट कार्यदिशा प्रस्तुत गरिएको छ । सङ्कल्प पत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक, खानेपानी, सिँचाइ, विद्युत्, शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । ग्रामीण र सहरी क्षेत्रबिच सन्तुलित विकास सुनिश्चित गर्दै दीर्घकालीन योजनामार्फत क्षेत्रको मुहार फेर्ने लक्ष्य राखिएको उल्लेख छ ।
शिक्षा र स्वास्थ्य क्षेत्र सुधारलाई विशेष प्राथमिकता दिँदै सामुदायिक विद्यालयहरूको स्तर अभिवृद्धि, प्राविधिक शिक्षाको विस्तार तथा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने योजना समेटिएको छ । आर्थिक विकासअन्तर्गत कृषि क्षेत्रको आधुनिकीकरण, उन्नत बिउ र प्रविधिको प्रयोग, पशुपालन तथा कृषि आधारित उद्योगको स्थापना गरी रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको जनाइएको छ । युवालाई सीपमूलक तालिम र स्वरोजगारका अवसर प्रदान गरिने प्रतिबद्धता गरिएको छ ।


सङ्कल्प पत्रमा संस्थागत सुधार र सुशासनलाई पनि जोड दिइएको छ । जटिल कानुनी प्रावधान संशोधन गर्दै जनमैत्री कानुन निर्माणमा पहल गरिने र सरकारी सेवा प्रवाहलाई सरल, सहज तथा पारदर्शी बनाइने उल्लेख गरिएको छ । वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ जोखिम न्यूनीकरण, वातावरणीय चेतना अभिवृद्धि र जलवायु अनुकूल कृषि प्रणाली विकासका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
त्यसैगरी सहिद परिवार, आन्दोलनका घाइते, अपाङ्ग, ज्येष्ठ नागरिक, महिला, दलित, आदिवासी–जनजाति तथा विपन्न वर्गका लागि विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरिएको छ । सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्दै समावेशी विकासलाई अघि बढाइने सङ्कल्पपत्रमा उल्लेख छ ।
सङ्कल्प पत्र सार्वजनिक गर्दै उम्मेदवार दीपक जिएमले राजनीति व्यक्तिगत स्वार्थका लागि नभई जनताको सेवा र अधिकार संरक्षणका लागि भएको बताउनुभयो । उहाँले जनताको दुःख–सुखमा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्दै बाँकेलाई समृद्ध, शिक्षित र सुरक्षित जिल्ला बनाउने लक्ष्यका साथ उम्मेदवारी दिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आइपी खरेल, अब्दुल हुसेन खाँलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *