समाचारदातता
नेपालगन्ज, फागुन १० । निर्वाचनको मिति नजिकिंदै जाँदा बाँके २ मा प्रचार प्रसारलाई उम्मेदवारहरुले तिव्र पारेका छन् । सो क्रममा प्रमुख दलका उम्मेदवारहरु निकै अक्रामक रुपमा प्रचार प्रसारमा जुटेको देखिन्छ । एमालेका उम्मेदवार पुर्वमन्त्री मोहम्मद इस्तियाक राईले विकासका थुप्रै योजनाहरु अघि सारेर विगतमा गर्न बाँकी रहेका कामहरु पुरा गर्न जनताको समर्थन र सहयोग माग्दै घरदैलो र भेटघाटलाई तिव्र पार्नु भएको छ ।

उहाँले सामाजिक सदभाव र विकास नै कुनै पनि ठाउँको प्रगतिका लागि अति आवशयक रहेको जनाउँदै नेपालगन्जलाई राजधानी बनाउन नदिएर पछाडी पार्नेहरुनै अहिले ठुला ठुला कुरा गरेर जनतालाई भ्रमित गर्ने कार्यमा लागेको बताउनुभयो । पुर्वमन्त्री राईले हरेकजसो कार्यक्रम र भेटघाटमा नेपालगन्जलाई प्रदेशको राजधानी नबनाएर यो सहरसंग ठुलो धोखा गरिएको जनाउँदै अहिले जनताले हिसाब माग्ने बेला आएको बताउँदै आउनु भएको छ ।

उहाँले यो जिल्लाले प्रधानमन्त्री पाएपनि राजधानी पाउन नसकेको दुख नेपालगन्जका हरेक नागरिकको साझा दुख बनेको बताउनुभयो । आफुले मन्त्री बनेको बेला त्यसबेलाका प्रधानमन्त्रीको जिल्ला भन्दा पनि बढी बजेट ल्याएर विकास गरेर देखाएको दावी समेत गर्दै आउनु भएको छ । गत ३ वर्षको अवधीमा केही पनि नभएको विषयलाई समेत उहाँले निकै प्रष्टसंग जनतासामु राख्दै आउनु भएको छ ।

उम्मेदवार राईले नेपालगञ्ज र डुडुवाको सामाजिक संरचना बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक भए पनि त्यही विविधता भित्रको एकताले क्षेत्रलाई बाँधेर राखेको बताउनुभएको छ। उहाँका अनुसार “खुसहाल जीवनको साझा चाहनाले हामीलाई जोडेको छ, अब यही भावनालाई नीतिगत सुधार र तीव्र विकाससँग जोड्नुपर्ने समय आएको छ।”

राईले विशेषगरी नेपालगञ्ज र डुडुवा गाउँपालिका मा पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार, रोजगारी सृजना र कानुनी तथा नीतिगत सुधारमार्फत समृद्धिको यात्रा अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले क्षेत्रको राजनीति सशक्त र प्रभावशाली हुँदा मात्र केन्द्रीय तहमा पहुँच बलियो हुने र त्यसबाट ठोस उपलब्धि हासिल गर्न सकिने धारणा राख्नुभएको छ ।

यसैबीच राईले निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धा नभई “विकास र राष्ट्रियता प्रवर्द्धन गर्ने शक्तिहरू तथा सम्प्रदायिकता र अन्तरपुस्ता द्वन्द बढाउन खोज्ने तत्वहरूबीचको वैचारिक लडाइँ” का रूपमा चित्रित गर्नुभएको छ। उहाँका अनुसार क्षेत्रको सद्भाव, सहिष्णुता र अन्तरपुस्ता सम्मानलाई कमजोर पार्ने षड्यन्त्रहरू सक्रिय हुन खोजिरहेको अवस्था देखिएको छ, जसप्रति मतदाता सचेत रहनुपर्ने समय आएको छ। राईको भनाइ छ, “अब फागुन २१ गतेको निर्वाचनमार्फत विकास, एकता र सद्भावको पक्षमा पुनः इतिहास रच्नुपर्नेछ।”
