१३ फाल्गुन २०८२, बुधबार

नेपालगन्ज–डुडुवाको ‘कनेक्टिभिटी’संगै समान विकास मुख्य प्राथमिकता हो–ईश्तियाक राई

नेपालगन्ज–डुडुवाको ‘कनेक्टिभिटी’संगै समान विकास मुख्य प्राथमिकता हो–ईश्तियाक राई

समाचारदाता
नेपालगन्ज, फागुन १३ । पश्चिमको ठूलो शहर नेपालगन्ज बाँके निर्वाचन क्षेत्र नम्बर दुईमा पर्छ । यसै क्षेत्रमा छिमेकको डुडुवा गाउँपालिका पनि पर्छ ।
तर, विकासको दृष्टिले दुबै ठाउँमा आँँकाश जमिनको फरक छ । त्यस्तो फरकलाई समाप्त पार्नकै लागि नेपालगन्ज–डुडुवा ‘कनेक्टिभिटी’ सो क्षेत्रका एमाले उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको मुख्य प्राथमिकतामा परेको छ ।
उहाँले केही दिनअघि सार्वजनिक गर्नुभएको प्रतिवद्धता पत्रमा पूर्वाधार अभाव झेलिरहेको डुडुवा गाउँपालिकालाई पूर्वाधार सम्पन्न बनाउने कुरालाई महत्वका साथ राख्नु भएको छ ।

पूर्वमन्त्री राई भन्नुहुन्छ–‘नेपालगन्जबाट डुडुवा निस्किएको मान्छेले विकासको फरकपना महसुस नगरोस् । धेरै सम्भावना र आशा हुँदाहुँदै पनि डुडुवा पछि परेको छ । तर अब बिगतको जस्तो हुँदैन ।’
छोटो समयका लागि भौतिक पूर्वाधार मन्त्री हुँदा पनि राईले डुडुवा क्षेत्रका सडक र पुल पूर्वाधार निर्माणमा थुप्रै बजेट विनियोजन गराउनुभयो । उहाँकै मन्त्री कार्यकालमा बजेट सुनिश्चित भएका कयौं पुल र सडक निर्माण भइसकेका छन् । केही अझै पनि निर्माण भइरहेका छन् ।
पूर्वमन्त्री राईले थप्नुभयो–‘मन्त्री हुँदा मैले शिलान्यास गरेका कतिपय योजना निर्माण भइसकेका छन् भने कतिपय निर्माणको चरणमा छन् । अहिले घरदैलो जाँदा जब ती योजनाहरु देख्छु, अतिनै खुसी महसुस गर्छु ।’


बाँके–२ बाट नेकपा एमालेका उम्मेदवार बन्नु भएका राईले तिनै योजनाहरुका कारण जनताले मत दिने बताउनुभएको छ । उहाँले वितेका तीन वर्षलाई हरेरे जनतामा चेत आएको जनाउँदै अब फेरी त्यस्तो नहोस भन्ने अधिकांशको चाहना र इच्छा रहेको आफुले पाएको बताउनुभयो ।
राईका अनुसार नेपालगन्ज जस्तो ठूलो शहरसंगै जोडिएको डुडुवामा विकासका सामान्य पूर्वाधार पनि थिएनन् । त्यही देखेर आफुले मन्त्री भएको बेला विभिन्न योजना पास गराएको स्मरण गर्दै उहाँले अब डुडुवामा विकास हुने र त्यसलाई कसैले रोक्न नसक्ने दावी गर्नुभयो । त्यसका लागि आफुले निकै प्रभावकारी योजना बनाएको पनि पूर्वमन्त्री राईले बताउनुभयो ।


समुदायगत विविधता पनि निर्वाचन क्षेत्र नं २ बाँकेको महत्वपूर्ण परिचय भएको जनाउँदै विविधताभित्र निहित एकताको भाव अनि खुसहाल जीवनको चाहले नै हामीलाई आपसमा बाँधेको राईको धारणा छ ।
उहाँले भन्नुभयो,–‘यही भाव र चाहलाई एकाकार गर्दै नीतिगत सुधारसहित नेपालगन्ज र डुडुवामा विकास निर्माणको काममा रफ्तार बढाउनु अबको प्राथमिकता हो । यो प्राथमिकतालाई कार्यान्वयन गर्दै नेपालगन्ज र डुडुवालाई समृद्ध तथा खुशहाल बनाउन सकिन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *