समाचारदाता
नेपालगन्ज, फागुन १७ । निर्वाचन हुन तीन दिन मात्र बाँकी रहेको अवस्थालाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी बाँके क्षेत्र नं २ ले बृहत मोटरसाइकल र्याली प्रदर्शन गरेको छ। चुनावी सरगर्मी उत्कर्षमा पुगेका बेला गरिएको यो शक्तिप्रदर्शनले नेपालगन्जको मुख्य सडक र गल्लीहरू उत्साहले भरिएका थिए।

र्यालीमा बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार युवा नेता दिपेन्द्र बिष्टलाई गाडीको पछाडिको डालामा उभ्याइएको थियो। सयौंको संख्यामा मोटरसाइकलसहित समर्थकहरूले नेपालगन्ज परिक्रमा गर्दै नाराबाजी र अभिवादनमार्फत समर्थन व्यक्त गरेका थिए।
नेपाली कम्युनिस्ट पार्टी बाँकेको पार्टी कार्यालय नेपालगन्ज बसपार्क रोडबाट सुरु भएको र्यालीले शहरका प्रमुख चोक, बजार र आवासीय क्षेत्र परिक्रमा गरेको निर्वाचन परिचालन समितिकी संयोजक पुर्णा कुमारी सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार, र्यालीमा युवा, महिला र विभिन्न पेशागत समुदायको उल्लेख्य सहभागिता रहेको थियो।

स्थानीय सर्वसाधारणले र्यालीलाई “उत्साहप्रद र व्यवस्थित” भन्दै चुनावी माहोल बिष्टको पक्षमा देखिएको प्रतिक्रिया दिएका छन्। कतिपयले यसलाई अन्तिम चरणको ऊर्जा प्रदर्शनका रूपमा व्याख्या गरेका छन् भने केहीले प्रतिस्पर्धालाई थप रोचक बनाउने संकेत मानेका छन्।र्यालीका क्रममा बिष्टले सर्वसाधारणलाई अभिवादन गर्दै शान्तिपूर्ण र सभ्य निर्वाचनका लागि आग्रह गर्नुभयो। उहाँले विकास, रोजगारी र सुशासनका एजेन्डा अघि सार्दै मतदातासँग अन्तिम अपिल पनि गर्नुभएको थियो।

निर्वाचन नजिकिँदै जाँदा यस्ता प्रदर्शनले चुनावी तापक्रम झनै बढाएको छ। अब बाँकी छ—मतदाताको निर्णय। फागुन २१ ले बाँके–२ को राजनीतिक दिशालाई कता मोड्नेछ, त्यसको उत्तर मतपेटिकाले दिनेछ। तर विष्टको अक्रामक प्रचार प्रसार शैलीले जनतामा नयाँ उत्साह थप्न भने सफल भएको छ ।

