समाचारदाता
नेपालगन्ज, असार २७ । बाँकेको नरैनापुर गाउँपालिकाका मुस्लिम धर्मगुरु र इमामहरुले समुदायमा कुपोषणको समस्या धेरै देखिएकोले पोषणसम्बन्धी सही सन्देश प्रवाह गर्दै बाल कुपोषण न्यूनीकरण र स्वस्थ तथा पोषणयुक्त समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
समुदायमा पोषण सम्बन्धि सचेतना फैलाउने उदेश्यले बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा जीवनकालागि पोषण परियोजना अन्तर्गत नरैनापुर गाउँपालिका–२ स्थित मदरसा सिराजिया इसरारुल उलूममा आयोजना गरेको एकदिने पोषण अभिमुखीकरण कार्यक्रममा धार्मिक अगुवाले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

कार्यक्रमको उद्देश्य मुस्लिम धार्मिक अगुवा इमाम तथा मौलानाहरूको पोषणसम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि गर्दै धार्मिक प्रवचन र समुदायस्तरीय सचेतनामार्फत बालबालिका तथा जोखिममा रहेका परिवारमा कुपोषण रोकथामसम्बन्धी सन्देश प्रभावकारी रूपमा प्रवाह गर्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

उहाँका अनुसार अभिमुखीकरणमा परियोजनाका उद्देश्य तथा प्राथमिकताका साथै सन्तुलित पोषण, शिशु तथा साना बालबालिकाको उचित आहार अभ्यास, समुदायमा आधारित कुपोषण रोकथामका उपाय तथा स्वस्थ पोषण व्यवहार प्रवद्र्धनका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो । साथै, समुदायमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि, सकारात्मक व्यवहार परिवर्तन तथा परिवारहरूलाई पोषणमैत्री अभ्यास अपनाउन प्रेरित गर्न इमाम तथा मौलानाहरूको महत्वपूर्ण भूमिकाबारे विशेष छलफल गरिएको थियो ।

कार्यक्रममा पोषण परीक्षणबाट प्राप्त तथ्याङ्कसमेत प्रस्तुत गर्दै कुपोषणको जोखिममा रहेका बालबालिकाको समयमै पहिचान, सेवा कार्यक्रममा समावेश, आवश्यक स्वास्थ्य संस्थामा सिफारिस तथा उचित व्यवस्थापनका प्रक्रियाबारे जानकारी गराइएको क्लबले जनाएको छ ।
कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गुलाम गौस हलुवाईले गर्नुभएको थियो भने हेलेन केलर इन्टरनेशनल नेपालका फिल्ड अफिसर लिलबहादुर नेपालीले प्राविधिक सहजीकरण गर्नुभएको थियो ।

यसअघि कार्यक्रमको उद्घाटन पोषण सहजकर्ता अजिता कुमारी गोडियाले गर्नुभएको थियो । बाँके युनेस्को क्लबकी कार्यक्रम संयोजक दृष्टि शाहले पनि परियोजना बारे सहभागिलाई जानकारी गराउनु भएको थियो ।
अभिमुखीकरण कार्यक्रममा नरैनापुरका १७ जना मुस्लिम धार्मिक अगुवा (इमाम तथा मौलाना) को सक्रिय सहभागिता रहेको कार्यक्रम संयोजक गुलाम गौस हलवाईले बताउनुभयो ।
