जयन्दु बालसुधार गृहका ७३ जना बालबन्दी छाला रोगबाट पिडित

भेरी अस्पतालद्वारा नि:शुल्क स्वस्थ्य शिविर आयोजना
सबिता चन्द
नेपालगन्ज, साउन ८। कानुनी विवादमा परेका बालबालिकालाई सुधार, संरक्षण र पुनर्स्थापनाको अवसर दिने उद्देश्यले सञ्चालनमा रहेको बाँकेको डुडुवा गाउँपालिका–६, आसमानपुरस्थित जयेन्दु बालसुधार गृहभित्र बालकहरूको स्वास्थ्य अवस्था चिन्ताजनक देखिएको छ। भेरी अस्पताल नेपालगन्जले आफ्नो १३६औँ स्थापना दिवसको अवसरमा सञ्चालन गरेको एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरका क्रममा सुधार गृहमा रहेका बालकहरूमा छाला रोगसँगै मानसिक स्वास्थ्य, नाक–कान–घाँटी, दन्त तथा अन्य स्वास्थ्य समस्या व्यापक रहेको तथ्य बाहिर आएको हो।
शिविरमा स्वास्थ्य परीक्षण गरिएका ९८ बालकमध्ये ७३ जनामा छालासम्बन्धी समस्या देखिएको छ। त्यस्तै १४ जनामा मेडिसिनसम्बन्धी समस्या, १२ जनामा नाक–कान–घाँटीसम्बन्धी समस्या, पाँच जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या र चार जनामा दन्तसम्बन्धी समस्या पहिचान भएको स्वास्थ्य टोलीले जनाएको छ। केही बालकमा एकभन्दा बढी स्वास्थ्य समस्या समेत देखिएको चिकित्सकहरूले बताएका छन्।
सुधार गृहमा रहेका कुल २७३ बालकमध्ये शिविरमा सहभागी ९८ जनाले विशेषज्ञ स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि सेवा प्राप्त गरेका थिए। स्वास्थ्य परीक्षणपछि थप उपचार आवश्यक देखिएका आठ बालकलाई भेरी अस्पतालमा रिफर गरिएको छ। शिविरमा स्वास्थ्य उपचारसँगै मनोसामाजिक परामर्श तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श सेवा समेत प्रदान गरिएको थियो।
यो तथ्यांकले सुधार गृहमा रहेका बालकहरूको स्वास्थ्य अवस्था केवल व्यक्तिगत समस्या नभई सुधार गृहको समग्र स्वास्थ्य, सरसफाइ, आवासीय व्यवस्थापन र नियमित स्वास्थ्य सेवासँग जोडिएको गम्भीर विषय भएको संकेत गरेको छ।
छाला रोगको उच्च संक्रमण : सरसफाइ र आवासीय व्यवस्थापनमा प्रश्न
स्वास्थ्य परीक्षणका क्रममा सबैभन्दा बढी बालकमा छालासम्बन्धी रोग देखिएको छ। छाला तथा यौनरोग विशेषज्ञ डा. सुवास पौडेलका अनुसार अधिकांश बालकमा लुतो र दादजस्ता संक्रामक छाला रोग देखिएको छ।
उनका अनुसार एउटै स्थानमा धेरै बालक लामो समयसम्म बसोबास गर्ने अवस्थामा व्यक्तिगत सरसफाइ, कपडा तथा ओछ्यानको स्वच्छता, नियमित नुहाउने व्यवस्था, पर्याप्त पानीको उपलब्धता र संक्रमित व्यक्तिको समयमै उपचार अत्यन्त महत्वपूर्ण हुन्छ। सुधार गृहमा देखिएको छाला रोगको अवस्थाले त्यहाँ नियमित स्वास्थ्य निगरानी, सरसफाइको प्रभावकारी व्यवस्थापन र संक्रमण नियन्त्रणका उपायलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखाएको छ।
एक बालकमा देखिएको सामान्य छाला समस्या समयमै उपचार नपाउँदा अन्य धेरै बालकमा फैलिन सक्ने भएकाले स्वास्थ्यकर्मीहरूले नियमित परीक्षण र तत्काल उपचारलाई अनिवार्य बनाउनुपर्ने सुझाव दिएका छन्।
शरीरको घाउभन्दा गहिरो छ मनको पीडा
सुधार गृहमा रहेका बालकहरूको स्वास्थ्य समस्या केवल शरीरमा सीमित छैन। स्वास्थ्य शिविरका क्रममा केही बालकमा मानसिक स्वास्थ्यसम्बन्धी गम्भीर समस्या समेत पहिचान भएको छ। मानसिक रोग विशेषज्ञ डा. दिप्ती काफ्लेका अनुसार केही बालकमा डिप्रेसन र एन्जाइटीका लक्षण देखिएका छन्। एक बालकमा आत्महत्याको सोचसम्म देखिएको उहाँले जानकारी दिनुभयो ।
यो अवस्था सुधार गृहमा रहेका बालकहरूको मनोसामाजिक अवस्था कति संवेदनशील छ भन्ने गम्भीर संकेत हो।
कानुनी विवादमा परेका बालकहरू विभिन्न पारिवारिक, सामाजिक र कानुनी परिस्थितिबाट गुज्रिरहेका हुन्छन्। परिवारबाट टाढा हुनु, मुद्दाको अनिश्चितता, भविष्यप्रतिको चिन्ता, सामाजिक कलंक र आफूलाई हेर्ने दृष्टिकोणले उनीहरूको मानसिक स्वास्थ्यमा गहिरो असर पार्न सक्छ।
त्यसैले सुधार गृहलाई केवल भौतिक रूपमा सुरक्षित स्थान बनाएर मात्र पुग्दैन। त्यहाँ रहेका बालकको मन पनि सुरक्षित हुनुपर्छ।
नियमित मनोसामाजिक परामर्श, मानसिक स्वास्थ्य परीक्षण, मनोचिकित्सकीय सेवा र आवश्यकताअनुसार उपचारको व्यवस्था अब सुधार गृहको नियमित सेवाको अभिन्न हिस्सा बन्नुपर्ने देखिएको छ।
कान पाक्ने, सुनाइ कम हुनेदेखि दाँतमा किरा लाग्नेसम्म
स्वास्थ्य शिविरमा नाक–कान–घाँटीसम्बन्धी समस्या भएका बालकहरू पनि उल्लेख्य भेटिए।
नाक–कान–घाँटी विशेषज्ञ डा. दिनेश चौधरीका अनुसार केही बालकमा कान पाक्ने र सुनाइ कम हुने समस्या देखिएको छ। यस्ता समस्या समयमै उपचार नपाए बालबालिकाको श्रवण क्षमता र दैनिक जीवनमा दीर्घकालीन असर पर्न सक्ने चिकित्सकहरूको भनाइ छ।
त्यस्तै, दन्त विशेषज्ञ डा. विवेक कुमार महतोका अनुसार बालकहरूमा दाँतमा किरा लाग्ने, गिजा सुन्निने तथा दन्तहर्षलगायतका समस्या देखिएका छन्।
यसले सुधार गृहमा नियमित दन्त परीक्षण र मुख स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमको समेत आवश्यकता देखाएको छ।
कन्सल्टेन्ट फिजिसियन डा. संकेत रिसालका अनुसार केही बालकमा पेट दुख्ने, कमजोरी महसुस हुने र छाती दुख्नेलगायतका समस्या पनि भेटिएका छन्।
‘सुधार गृह सजायको अन्तिम गन्तव्य होइन, नयाँ जीवनको सुरुवात हो’
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले जयेन्दु बालसुधार गृहमा रहेका बालकहरूको स्वास्थ्य सेवामा निरन्तर पहुँच सुनिश्चित गर्न अस्पताल प्रतिबद्ध रहेको बताउनु भयो ।
उनले बाँके जिल्ला अदालतसँग भएको पूर्वसम्झौताअनुसार अबदेखि सुधार गृहमा नियमित मासिक स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कानुनी विवादमा परेका बालकहरूलाई समाजबाट अलग्याएर हेर्नुभन्दा उनीहरूलाई सुधार र पुनर्स्थापनाको अवसर दिनुपर्नेमा जोड दिँदै उहाँले सुधार गृहको मूल उद्देश्य सजाय नभई बालकलाई नयाँ जीवनतर्फ फर्काउनु भएको बताउनु भयो ।
रामायणका रचयिता वाल्मीकि ऋषिको उदाहरण दिँदै डा. दर्नालले ‘एकपटक गल्ती गर्दैमा जीवनभर दोषी ठहरिनु हुँदैन’ भन्ने सन्देश दिनुभएको थियो ।
उहाँको भनाइले सुधार गृहको मूल दर्शनलाई नै उजागर गर्छ—गल्तीको अन्त्य सजायमा होइन, सुधारमा हुनुपर्छ।
‘तिमीहरूको विगतले भविष्य निर्धारण गर्दैन’
भेरी अस्पताल विकास समितिका निमित्त अध्यक्ष डा. डक्टप्रसाद धितालले कानुनी विवादमा परेका बालकहरू निराश नभई आफ्नो जीवनलाई सकारात्मक दिशातर्फ अघि बढाउनुपर्ने बताउनु भयो ।
उहाँले बालकहरूलाई आफूलाई सुधार्दै समाजका असल र जिम्मेवार नागरिक बन्न प्रेरित गर्नु भयो । वास्तवमा सुधार गृहमा रहेका प्रत्येक बालकको कथा एउटै हुँदैन। कसैको गल्ती हुन सक्छ, कसैलाई परिस्थितिले यहाँ ल्याएको हुन सक्छ र कसैको जीवनमा अरूले गरेको निर्णयको प्रभाव परेको हुन सक्छ।
तर उनीहरू सबैको साझा अधिकार एउटै हो—स्वास्थ्य, शिक्षा, सम्मान, संरक्षण र भविष्यको अवसर।
कानुनी विवादमा परेको बालकलाई उसको मुद्दाको आधारमा मात्र चिनाउनु हुँदैन। उसको भविष्यलाई पनि हेर्नुपर्छ। ‘हामीलाई नियमित स्वास्थ्य सेवा चाहिन्छ’ कार्यक्रममा कानुनी विवादमा परेका बालकहरूको तर्फबाट बोल्दै परिवर्तित नाम ‘कैलाली–७१, सुख्खड–४८’ ले सुधार गृहमा रहेका धेरै बालक छाला, कान, दाँत तथा मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको बताउनु भयो ।
उहाँले स्वास्थ्य समस्या देखिएपछि मात्र उपचार खोज्नेभन्दा नियमित स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर्न आग्रह गर्नुभयो ।
उहाँको माग केवल एउटा बालकको माग थिएन। त्यो सुधार गृहभित्र रहेका सयौँ बालकको स्वास्थ्य अधिकारसँग जोडिएको आवाज थियो। ‘सुधार गृहको नाम मात्रै होइन, संरचना पनि सुधारमुखी हुनुपर्छ’ जग्गादाता समाजसेवी जयकेश सिंहले बालसुधार गृहलाई वास्तविक अर्थमा सुधार र पुनर्स्थापनाको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनु भयो ।
एडभोकेसी फोरम नेपालका वरिष्ठ प्रदेश संयोजक तथा कार्यक्रम सञ्चालक अधिवक्ता बसन्त गौतमले कानुनी विवादमा परेका बालकहरूले पनि संविधान तथा बालअधिकारसम्बन्धी कानुनले सुनिश्चित गरेका शिक्षा, स्वास्थ्यलगायतका आधारभूत अधिकार पूर्ण रूपमा उपभोग गर्न पाउनुपर्ने बताउनु भयो ।
उहाँले बालसुधार गृहलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधारमुखी बनाउँदै बालबालिकाका न्यूनतम अधिकारको संरक्षण सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच सहकार्य आवश्यक रहेको बताउनु भयो । बालसुधार गृहका प्रमुख किशोर शर्माले स्वास्थ्य शिविरले बालकहरूको स्वास्थ्य अधिकार कार्यान्वयनमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै यस्ता विशेषज्ञ स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *