१५ बैशाख २०८१, शनिबार

आर्थिक अभावले बाँकेमा मदरसा सञ्चालनमा समस्यै समस्या

आर्थिक अभावले बाँकेमा मदरसा सञ्चालनमा समस्यै समस्या

नेपालगञ्ज, कात्तिक ११ गते । मदरसा शिक्षालाई व्यवस्थित गरी सञ्चालन गर्न र हाल भोग्नु परेको समस्या र त्यसको निकासका लागि पहल गर्न नेपालगञ्जमा एक बृहत्त छलफलको आयोजना गरिएको छ ।
राष्ट्रिय मदरसा काउन्सिल नेपालले आयोजना गरेको सो छलफल कार्यक्रममा सहभागि विभिन्न मदरसाका सञ्चालकहरुले हाल भोग्नु परेका समस्या र सो को निकासका बारेमा आआफ्नो धारणा राखेका थिए ।
लुम्बिनी प्रदेश राष्ट्रिय मदरसा काउन्सिल नेपालका उपाध्यक्ष मुफ्ती कैफुलवरा मिसबाहीको अध्यक्षतामा सम्पन्न भएको सो छलफल र अन्तरक्रियामा बाँकेका विभिन्न मदरसाका प्राधानाध्यापक र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
छलफलमा उपाध्यक्ष मिस्बाहीले सरकारले लागु गरेको पाठ्यक्रमसँगै इस्लामिक ज्ञान दिइने मदरसा सञ्चालनका लागि आर्थिक स्रोत र साधनको कमी प्रमुख समस्या भएको कुरा अधिकांशले उठाएको बताउनुभयो ।
उहाँले मदरसा सञ्चालनमा आर्थिक समस्यानै सबैभन्दा प्रमुख समस्या रहेको कुरा मदरसा सञ्चालकहरुबाट आएकोले सो सम्बन्धमा सरकारले कुनै विशेष निति बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।
विभिन्न जिल्लामा रहेका मदरसाहरु तीन तहका सरकार तथा स्थानीय समुदायको सहयोगमा सञ्चालन हुने गरेका छन् । ‘लकडाउनका कारण समुदायबाट आउने सहयोग बन्द भएको छ’, उपाध्यक्ष मिस्बाहीले भन्नुभयो, ‘ आर्थिक अभावले मदरसा बन्द गर्न बाध्य हुनुपर्ने अवस्था आएको छ ।’
उहाँले मदरसाहरुलाई समान रुपमा आर्थिक सहयोग प्रदान गरेर स्थायी समाधानका लागि सरकारले व्यवस्थापन गर्नुपर्ने माग समेत गर्नुभयो ।
मदरसा बरकातिया नेपालगञ्जका संस्थापक मौलाना अब्दुल जब्बार मन्जरीले मुस्लिम समुदायका बालबालिकाको मदरसाप्रति आकर्षण बढ्दैगएपनि आर्थिक अभावले मदरसा सञ्चालनमै समस्या आएको बताउनुभयो ।
उहाँले स्थानीय तहले मदरसाप्रति कुनै पनि चासो नराखेर विद्यालय र मदरसालाई हेर्ने दृष्टिकोणनै धेरै फरक रहेको गुनासो गर्नुभयो ।
यस्तै दारुलउलूम गुलशने रजाका प्राधानाध्यापक कारी अजमत अली शेखले शिक्षकको दरबन्दी नहुँदा अध्यापन गर्न निकै समस्या हुने गरेको सुनाउनुभयो । उहाँले स्थानीय तहमा पहल गर्दा समेत कुनै सुनुवाई नभएको बताउनुभयो ।
उहाँले चार बर्षदेखि शिक्षकका लागि स्थानीय तहमा अनुरोध गरेपनि सुनुवाई नभएको गुनासो गर्नुभयो । स्थानीय तहका जनप्रतिनिधि, शिक्षा शाखाका कर्मचारीबाट पटक पटक मदरसा अनुगमन गरिएपनि मागमा कुनै ध्यान नदिएको बताउनुभयो ।
मदरसा दारुलउलूम अताए मुस्तफाका प्रधानाध्यापक साकिर अली बेहनाले मदरसाका समस्या तथा आवश्यकताका बारेमा शिक्षा शाखा पुग्दा वास्तै नगर्ने गुनासो गर्नुभयो ।
शिक्षा शाखामा बस्ने कर्मचारीले मदरसाप्रति राम्रो दृष्टिकोण नराखेको उहाँहरुको व्यवहारलेनै पुष्टि गरिरहेको बेहनाले बताउनुभयो । ( गोरखापत्र दैनिकबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *