सिराज खान
नेपालगञ्ज, १४ कात्तिक । पश्चिम नेपालकै प्रमुख सहर नेपालगञ्ज अहिले देशमै धार्मिक र सामाजिक सदभावको नमुना मानिन्छ । केही वर्ष पहिले यस्तो अवस्था थिएन ।
तर, अहिले आएर यो सहरको धार्मिक, सामाजिक सदभाव धेरै ठाउँका लागि उदाहरण बन्ने गरेको छ । यो यस्तै र आफै भएको होइन । यसका लागि हिन्दु मुस्लिम दुबै धर्मका धर्मगुरु, अगुवा र राजनितिज्ञहरुले ठुलो मिहिनेत गरेका छन् ।
त्यसैले त अहिले यहाँ हरेक चाडपर्व र धार्मिक कार्यक्रमहरुमा सबै धर्मावलम्बी र समुदायको उल्लेख्य सहभागिता र सहयोग हुने गरेको छ ।
हरेक चाडपर्व आउनु भन्दा पहिले अन्तरधार्मिक सदभाव समितिको बैठकले स्थानीय प्रशासन र प्रहरीसंग संयुक्त रुपमा बसेर पर्वलाई सभ्य तथा भव्य बनाउन निर्णय गर्दै आएको छ ।
सो कार्यमा बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी, दुबै धर्म समुदायका अगुवाहरु मोहम्मद ईश्तियाक राई, दिपक लोध राजपुत, अब्दुल हमीद सिद्दिकी, मेराज अहमद हिमालय, हारुन कादरी, फिरोज हलवाई लगायत धेरैको भूमिका सधैं अहम रहने गरेको छ ।
सोही प्रकारको धार्मिक सदभाव र एकताको पछिल्लो नमुना आइतवार यो सहरमा फेरी देखियो । जब पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगीलाई रुद्राक्षले बेरिएको घडि उपहार दिनुभयो ।
उपहार दिंदै पुर्वमन्त्री राईले नेपालगञ्जमा सदभाव कायम गर्न योगीले खेलेको भूमिकाको खुला मनले प्रशंसा गर्दै आभार व्यक्त गर्नुभयो ।
मुल महन्त योगीले पनि सो उपहारलाई सहर्ष स्विकार गर्दै सो कार्यमा राई लगायत अन्य धार्मिक र सामाजिक अगुवाहरुको पनि अहम भूमिका रहेको स्मरण गर्नुभयो । उहाँले राईलाई अंगालो मारेर आशिर्वाद पनि दिनुभयो ।
यो सदभाव र सौहार्दताको साक्षी बन्नुभयो, एक कार्यक्रम विशेषका लागि नेपालगञ्ज आउनु भएका केन्द्रिय हज समितिका अध्यक्ष शमसेर मियाँ । उहाँले यस्तो सदभाव र एकता प्रत्यक्ष देखेपछि हृदयदेखिनै महन्त योगी र पुर्वमन्त्री राईलाई बधाई र शुभकामना दिंदै यसलाई लामो समयसम्म जोगाई राख्न आग्रह गर्नुभयो ।
सहरमा कायम रहेको सोही सदभाव र एकताले गर्दानै अहिले विभिन्न चाडपर्वमा सबैको समान सहभागिता रहने गरेको पुर्वमन्त्री राईको ठहर छ ।
हाल कायम रहेको यो सदभाव र एकता सधैं कायम रहोस भन्ने चाहना र ईच्छा सम्पुर्ण जिल्लावासीको छ ।