नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १० । ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्न सक्रिय रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेले नेपालगञ्जको पुष्पलाल चोक नजिक सडकमा दुर्घटनाको जोखिम बढेपछि मंगलवार माटो छर्केर दुर्घटनाको जोखिम टार्ने कार्य गरेको छ ।
यात्रु वाहक सवारी साधन ठुलो संख्यामा आवागमन गर्ने र रोक्ने मुख्य ठाउँ बनेको पुष्पलाल चोक नजिकको सडकमा मोबिल पोखिएर सडक अत्याधिक मात्रामा चिल्लो हुन गई सवारी दुर्घटना हुने संभावना भएका कारण सो सडकमा माटो हालेर दुर्घटना हुनबाट जोगाउने कार्य गरिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताउनुभयो ।
उहाँले नेपालगंज उप–महानगरपालिका वडा नं.१८ स्थित सडकमा मोबिल पोखिएर सडक अत्याधिक मात्रामा चिल्लो हुन गई सवारी साधन चिप्लिने र दुर्घटना हुने संभावना देखेर ट्रयाक्टरमा माटो बोकेर ल्याइ छर्किएको बताउनुुभयो ।
पछिल्लो समयमा जिल्ला ट्राफिक कार्यालय बाँकेले ट्राफिक नियम पालना गर्न सर्वसाधारणमा सचेतना फैलाउने कार्य निरन्तर गर्दै आएको जनाउँदै ट्राफिक कार्यालय बाँकेका प्रमुख शाहले ट्राफिक नियम उलंघन गर्नेहरु विरुद्ध कडाई शुरु गरिएको बताउनुभयो ।
उहाँले चेकजाँच कडा पार्नुका साथै ह्विल लक लगायतका विभिन्न कारवाही र जरिवाना असुल्ने कार्यलाई पनि जारी राखिएको र सेचतना अभियान पनि जारी राखिएको बताउनुभयो ।
बाँकेको ट्राफिक व्यवस्थापनका लागि प्रहरीलाई सहयोग गर्न सम्पुर्ण जिल्लावासी व्यापारी, सवारी चालक र अन्य सर्वसाधारणसंग प्रमुख शाहले आग्रह पनि गर्नुभएको छ । नेपालगञ्ज कोहलपुर सडक खण्ड र कोहलपुर अगैया तथा कोहलपुर बाँसगढी सडक खण्डमा बढी दुर्घटना हुने हुँदा यी सडकमा अझै सेचतना र निगरानी बढाउनु पर्ने जिल्लावासीको माग छ ।