समाचारदाता
नेपालगञ्ज, कात्तिक ५ । बी ग्रुपले बाल्मिकी समाज नेपाललाई कार्यालय स्थापनाका लागि एक लाख ७० हजार बराबारको सामाग्री सहयोग गरेको छ ।
बी ग्रुप, जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत बाल्मिकी समाज नेपाललाई कार्यालय सञ्चालनका लागि एक लाख ७० हजार बराबरका विभिन्न सामाग्री सहयोग गरिएको परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले बताउनुभयो ।
सो सामाग्री बी ग्रुपक अध्यक्ष टेक बहादुर पुनले बाल्मिकी समाज नेपालका अध्यक्ष जगदिश बाल्मिकीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै बी ग्रुपका अध्यक्ष पुनले बाल्मिकी समाजको भलाई र उत्थानका लागि खोलिएको यो संस्थाले आफ्नो उदेश्य पुरा गर्नतर्फ सधैं अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरि बाल्मिकी समाज नेपालका अध्यक्ष बाल्मिकीले बी ग्रुपको यो सहयोग र परियोजना दुबैले बाल्मिकी समाजको उत्थानमा ठुलो टेवा पुग्ने जनाउँदै बी ग्रुपप्रति आभार व्यक्त गर्नुभयो ।
सो अवसरमा बाल्मिकी समाजका उपाध्यक्ष प्रेम बाल्मिकीले पनि बाल्मिकी समाजको भलो र उत्थानमा बी ग्रुपको विशेष योगदान रहेको जिकिर गर्नुभयो ।
बी ग्रुपले बाल्मिकी समाजलाई एक थान टेबल, एक थान घुम्ने कुर्सि, ६ थान प्लष्टिकका कुर्सि, ६ मिटर कार्पेट, १ थान डेस्कटप कम्प्युटर, एक थान प्रिन्टर, एक थान कम्प्युटर टेबल, एउटा सिलिंग पंखा, एक थान दराज, २ वटा मल्टिप्लग, एउटा फायल ट्रे र ८ हजार बराबरको स्टेशनरी तथा एक बर्षको वाईफाइ जडान गरेर दिएको छ ।
संस्थाले पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनामार्फत पनि सफाई कार्यमा संलग्न बाल्मिकी समाजको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।