६ चैत्र २०८१, बिहीबार

विद्युतीय आगलागी न्यूनीकरणका लागि बाँकेका इलेक्ट्रिसियनलाई तालिम

विद्युतीय आगलागी न्यूनीकरणका लागि बाँकेका इलेक्ट्रिसियनलाई तालिम

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ५ । बाँके जिल्लाका इलेक्ट्रिसियनहरुलाई विद्युतीय आगलागी न्यूनीकरण र सुरक्षा सम्बन्धि तालिम दिइएको छ । सो तीन दिने तालिममा विद्युतीय आगलागीको बढ्दो जोखिमलाई कम गर्न अपनाउनुपर्ने पूर्व सावधानीका बिषयमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइएको हो ।
विद्युतीय जोखिम न्यूनीकरणका लागि इलेक्ट्रिसियन र विद्युतीय सामग्री विक्रेताहरुलाई तालिम दिइएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना अन्तर्गत स्थानीय विद्युतकर्मी तथा विक्रेताकालागि विद्युतजन्य विपद सुरक्षा तालिम आयोजना गरिएको अधिकृत ज्ञवालीले बताउनुभाये ।
भेरी प्राविधिक शिक्षालयमा कार्यरत इलेक्ट्रिकल इन्जिनियर सन्दिप डुम्रे मुख्य प्रशिक्षक रहेको सो तालिममा भेरी प्राविधिक शिक्षालयका प्रेम शेर्पा र नेपाल विद्युत प्राधिकरणका हिरामणि घर्ती मगरले पनि सहजीकरण गर्नु भएको थियो ।


तालिममा वाइरिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु, सामानको गुणस्तर पहिचान, वाइरिङ गर्दा थाहा पाउनै पर्ने सैद्धान्तिक र प्राविधिक ज्ञान, विद्युतीय सामग्रीहरु सुरक्षित राख्न जडान गर्नैपर्ने नयाँ नयाँ उपकरण, विद्युतीय सचेतना लगायतका विषयमा प्रशिक्षण दिइएको मुख्य प्रशिक्षक डुम्रेले बताउनुभयो ।
तालिमको समापनको अवसरमा मंगलवार आयोजित एक कार्यक्रममा तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरियो । नेपाल रेडक्रस सोसाइटी सदरलाइन शाखाका सभापति ओमप्रकाश आजादको सभापतित्वमा भएको समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, नेपालगञ्ज उपमहानगरका पूर्वाधार विकास संयोजक बसन्तकुमार कनौजिया, नेपाल रेडक्रस सोसाइटी बाँकेका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालिकाका विपत समिति संयोजक समिरप्रताप सिंह, रेडक्रसकी निमित्त कार्यालय प्रमुख निरञ्जना मल्ल र नगरपालिका कार्यपालिका सदस्य मुजम्मिल अन्सारी लगायतले सहभागिलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
सो अवसरमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजाल लगायत सबैले विद्युतीय आगलागिको जोखिम कम गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । इलेक्ट्रिसियन एसोसियसन बाँकेका अध्यक्ष दिपक खनालले आफूहरुले लामो समयदेखि वाइरिङ गर्दै आइरहेको भएपनि धेरैजसो विषयहरुमा सैद्धान्तिक ज्ञान नभएको अवस्थामा तालिम निकै फलदायी भएको बताउनुभयो । तालिममा इलेक्ट्रिसियन एसोसियसन बाँकेको समन्वयमा २५ जनालाई छनोट गरेर सहभागि गराईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *