सिराज खान
नेपालगन्ज, कात्तिक ११ । दसैं सकिएलगत्तै सहर बजारमा फेरी चहलपहल बढ्न थालेको र सवारी साधनको संख्या पनि सडकमा बढ्दै गएकोले ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरणका लागि बाँकेमा सचेतना अभियान शुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक गोपिकृष्ण सुवेदीले पछिल्लो समयमा बाँकेमा फेरी सवारी दुर्घटना बढेको पाईएकोले सो न्युनिकरणका लागि जिल्लाका विभिन्न स्थानमा एकै पटक ट्राफिक सचेतना अभियान शुरु गरिएको बताउनुभयो ।
उहाँले सो अभियान अन्तर्गत शनिवार एकै दिन नेपालगन्ज, फुलटेक्रा, कोहलपुरको हाईस्कल, सम्झना, मदनचोक, बसपार्क, कुसुम, राप्तीपारी भगवानपुरमा ट्राफिक सचेतना अभियान गरिएको बताउनुभयो ।
जिल्ला ट्राफिक कार्यालय र मातहतका ट्राफिक पोष्टहरुबाट सवारी साधन आवागमन बढी हुने विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरीले बाटो प्रयोग कर्ता, चालक तथा सह–चालक, बिद्यार्थि र सर्वसाधारणहरुलाई ट्राफिक नियम, सवारी दुर्घटना र सवारी दुर्घटना न्युनिकरणका उपायहरुका बिषयमा जानकारी गराउनु भएको थियो ।
विभिन्न स्थानमा आवागमन गर्नेहलाई समय समयमा रोकेर जम्मा गरि ट्राफिक सचेतनाका बारेमा जानकारी गराईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सो कार्यालयका अनुसार कोहलपुरबाट सुर्खेतजाने सडकको चिसापानी, बुटवलतर्फ जाने सडकको कुसुम, धनगढी जाने सडकको मदनचोक र नेपालगन्जतर्फ जाने सडकको हाईस्कल चोकलाई विशेष फोकस गरेर सचेतना प्रदान गरिएको थियो ।
ट्राफिक सचेतना अन्तर्गत जानकारी प्राप्त गर्नु भएका नेपालगन्ज ११ का जावेद राईले दुर्घटना न्युनिकरणका लागि शुरु गरिएको यो अभियान निकै प्रभावकारी लागेको जनाउँदै यसलाई निरन्तर जारी राख्नु पर्ने माग गर्नुभयो ।
ट्राफिक प्रहरीले यस अघि पनि जिल्लामा दुर्घटना रोक्न तथा ट्राफिक नियमहरु बारे सर्वसाधारणलाई जानकारी गराउन बेला बेलामा विभिन्न अभियान चलाउँदै आएको छ ।