बिग्रुपद्धारा स्वास्थ्य बीमाको अवस्था बारे भेरी अस्पतालमा अनुगमन
सिराज खान
नेपालगन्ज, जेठ १० । स्वास्थ्य उपचारमा सहजता र सरलताकालागि स्वास्थ्य बीमा गराएर यहाँस्थित भेरी अस्पतालमा उपचार गराउन पुगेका यस क्षेत्रका अधिकांश बिरामीहरुले सेवा प्रवाह बारे गुनासै गुनासा गरेका छन् ।
भेरी अस्पतालको बीमा काउण्टर र औषधी वितरण काउण्टरमा भेटिएका अधिकांश बिरामीले कर्मचारीको व्यवहार रुखो भएको, अस्पताल भित्रै रहेका विभिन्न परिक्षणका लागि बाहिर पठाउने गरिएको, निशुल्क पाउने अधिकांश औषधी नदिने गरिएको, बीमा गराएका बिरामीको पालो पछि पार्ने गरिएको र जेष्ठनागरीक, अपाङ्गता भएका लगायतका लागि छुट्टै व्यवस्था नरहेको गुनासो गरेका छन् ।
एमडीएम फ्रान्सको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपद्धारा बाँकेका तीनवटा पालिकामा सञ्चालन गरिएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत अनुगमन गर्न भेरी अस्पताल पुगेको टोली समक्ष बिरामीहरुले ती गुनासा गरेका हुन् ।
अनुगमनका लागि अस्पताल पुगेको सो टोलीमा स्थानिय तह स्वास्थ्य विमा संयोजन समितिका प्रतिनिधि, जिल्लास्थित स्वास्थ्य बीमा वोर्डका प्रतिनिधि, बिग्रुपका अध्यक्ष लगायत परियोजनाका कर्मचारी, उपमहानगर स्वास्थ्य शाखाका प्रतिनिधि, एमडिएम फ्रान्सका प्रतिनिधी र पत्रकारको सहभागिता रहेको थियो ।
पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत नेपालगन्ज, खजुरा र डुडुवाका ७२९ सरसफाईकर्मी र ३०२ जना किसान गरेर एक हजार ३१ जनाको स्वास्थ्य बीमा गराईएको परियोजना संयोजक समद सिद्दिकीले बताउनुभयो ।
उहाँले लक्षित समुदायमा स्वास्थ्य बीमा सेवाको पहँुच तथा उपयोगिताका सम्बन्धमा जानकारी लिन भेरी अस्पतालको अनुगमन र समिक्षा गरिएको बताउनुभयो ।
अनुगमन टोलीले अस्पताल पुगेर बीमा काउण्टर, निशुल्क औषधी बितरण काउण्टर, एक्सरे गर्ने कोठा, ओपिडी लगायतका सेवाहरुको निरिक्षण गरेर सो बारेमा अस्पताल बिकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाहसंग पनि छलफल गरेको थियो ।
अनुगमनका क्रममा अस्पतालमा पाईएको सेवा सुविधाको अवस्था बारे छलफल गर्न आयोजना गरिएको कार्यक्रममा अधिकांश सहभागिले स्वास्थ्य बीमाको सेवा सुविधामा धेरै सुधारको आवश्यकता रहेको धारणा राख्नु भयो ।
सबै सहभागिले यस्तो अनुगमन पटक पटक गर्नु पर्ने आवश्यकता औंल्याउँदै अनुगमनको निरन्तरता र अनुगमनबाट प्राप्त सुझावलाई लिखित रुपमै भेरी अस्पतालमा पठाउनुपर्ने बताउनुभयो ।
अनुगमन टोलीमा रहनु भएका नेपालगन्ज उपमहानगरका वातावरण तथा सरसफाई समितिका संयोजक समिर प्रतापसिंह, वातावरण शाखाका प्रमुख ईन्जिनियर प्रकाश डिसी, बि ग्रुपका अध्यक्ष टेक बहादुर पुन, उपाध्यक्ष मिरा खनाल, नेपालगन्ज उपमहानगर स्वास्थ्य शाखाका जागेश्वर बस्नेत, स्वास्थ्य बीमा बाँकेका ईन्चार्ज रमेश आचार्य, स्वास्थ्य बीमा भेरी अस्पताल डेस्कमा कार्यरत बिन्दु गौतम कँडेल, डुडुवा ६ का अम्बल सिंह र नेपालगन्ज २३ का माया तामांगले समिक्षा कार्यक्रममा स्वास्थ्य बीमाको सेवा बारे अस्पतालमा देखिएको अवस्थाको जानकारी गराउँदै विभिन्न सुझाव दिनु भएको थियो ।
पहिलो चरणको कार्यक्रममा परियोजना संयोजक सिद्दिकीले परियोजना र स्वास्थ्य बीमा बारे जानकारी गराउँदै अनुगमनका सम्बन्धमा पनि जानकारी गराउनु भएको थियो । उक्त अवसरमा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिनेश चौधरीको पनि उपस्थिति रहेको थियो ।
राष्ट्रिय बीमा कार्यक्रमप्रति नागरिकको भरोसा र विश्वास बढ्दै गएकाले अस्पतालमा बीमा गराएका बिरामीको अत्यधिक चाप रहेपनि सेवा प्रवाहमा धेरै कमी कमजोरी रहेकोले सुधारको आवश्यकता देखिएको छ ।