समाचारदाता
नेपालगन्ज, कात्तिक ६ । नेपालगन्ज उपमहानगरको फोहर व्यवस्थापनमा नगरवासीको ध्यानाकर्षण गराउने उदेश्यले मंगलवार यहाँ एक बृहत्त जनचेतना र्याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
सरसफाई सम्बन्धि जनचेतना फैलाउने विभिन्न प्लेकार्ड बोकेर नगरपरिक्रमा गरेको सो र्यालीमा स्थानीय सरकारका प्रतिनिधिहरु, सरसफाईकर्मी, विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधि, बिद्यार्थि, स्थानीय उद्योगी व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।
भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुप ले एएफडी एवम् एमडिएम फ्रान्सको सहयोगमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत नेपालगन्ज उपमहानगरसंगको सहकार्यमा सो र्याली र अन्तरक्रिया आयोजना गरिएका होे ।
स्थानीय सेतु विक चोकबाट शुरु भएको र्यालीले आफ्नो सहर र क्षेत्र सफा राख्न तथा सरसफाईमा सहयोग गरेर सभ्य नागरिकको परिचय दिने खालका विभिन्न प्लेकार्ड बोकेर नगर परिक्रमा गरेको थियो ।
नगरपरिक्रमा पछि आयोजना गरिएको बृहत्त अन्तरक्रिया कार्यक्रममा नेपालगन्जको सरसफाइका लागि सबै सरोकारवालाले मिलेर संयुक्त अभियान सञ्चालन गर्नुका साथै सर्वसाधारणमा सो बारेमा चेतना फैलाउने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रमका सहभागिहरु र सहजकर्ताद्धारा सोधिएका विभिन्न प्रश्नको जवाफ दिंदै नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले नेपालगन्जको फोहोर व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको जनाउँदै त्यसलाई सहज र सरल रुपमा सम्पन्न गर्न सबैको समान योगदान हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले फोहोर गर्ने नागरिकदेखि फोहोर संकलन गर्ने सरसफाईकर्मी तथा निगरानी गर्ने जनप्रतिनिधिदेखि कमीकमजोरी औंल्याउने सबैले मिलेर काम नगरे फोहोर व्यवस्थापन हुन नसक्ने बताउनुभयो ।
अधिकारकर्मी प्रकाश उपाध्यायले चेतना फैलाउने र आग्रह गर्ने समय कटिसकेको जनाउँदै फोहर व्यवस्थापनलागि कडाईका साथ दण्ड जरिवानाको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
सो अवसरमा आफ्नो धारणा राख्ने अधिकांश सरोकारवालाले फोहोर व्यवस्थापन कुनै एक पक्षले मात्र गरेर नहुने प्रष्ट पार्दै सबैको सहयोग र योगदान आवश्यक रहेको निष्कर्श निकालेका थिए ।
बिग्रुपका अध्यक्ष डा. इन्द्र बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, नेपालगन्ज उपमहानगर सरसफाई महाशाखाका प्रमुख प्रकाश डिसी, वडा नम्बर १२ का वडा अध्यक्ष तरुण बज्राचार्य, नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवि ओली, भेरी अस्पतालका चिकित्सक डा. राहुल कुर्मी, हरित अभियन्ता हेमन्तराज काफ्ले, होटल व्यवसायी संघका गोपाल गिरी, डुडुवा गाउँपालिका ६ का वडा अध्यक्ष मोहनराम मिश्र लगायतले सरसफाई र सरसफाईकर्मीको समस्याका बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो ।
सो अवसरमा एमडिएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्की, परियोजना संयोजक समद सिद्दिकी, नेपालगन्ज स्वास्थ्य शाखाका प्रमुख राम बहादुर चन्द, वडा नम्बर २० का वडा अध्यक्ष कौशल धोबी लगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार ओबिराज आचार्यले गर्नु भएको थियो ।
कार्यक्रममा सरसफाईमा उत्कृष्ठ काम गर्ने सफाईकर्मी लगायत विभिन्न सरोकावालालाई कदरपत्र प्रदान गरेर सम्मान गरिएको थियो भने सरसफाइको प्रतिवद्धता गर्दै प्रतिबद्धता पत्रमा सहभागिहरुले हस्ताक्षर गर्नु भएको थियो ।