सिराज खान
नेपालगन्ज, कात्तिक ११ गते । नेपाल भारत नाकामा खटिएको सशस्त्र प्रहरी बलले बाँके र बर्दियाका नाकामा रहेका स्थानीय तहका वडा अध्यक्षहरूसँग सीमा सुरक्षा को बिषयमा अन्तरक्रिया र छलफल गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर पाँच बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तुको आयोजनामा ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत नेपालगन्जस्थित आइसीपिमा सो कार्यक्रम गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बाँके र बर्दियाका सीमानामा पर्ने वडाहरुका वडा अध्यक्षहरूसँग सीमा इलाकाहरूमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरी पैठारी, मानव बेचबिखन, अपराधिक गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीले जनतासंग सहकार्य गर्ने उदेश्यले अन्तरक्रिया गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेड क्वाटर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले बताउनुभयो ।
सो छलफलमा बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले सशस्त्र प्रहरीले सीमा निगरानी तथा सुरक्षाका लागि जनताको साथ र सहयोग लिन यो छलफल गरेको बताउनुभयो ।
सो छलफलमा सशस्त्र प्रहरी र स्थानीय तहहरूबीच समन्वय र सहकार्य गर्ने सहमति बनेको पनि सशस्त्र प्रहरीले जनाएको छ ।
उक्त छलफलमा नाका र वरिपरिका क्षेत्रमा साम्प्रदायिक तथा धार्मिक सद्भाव अभिवृद्धि र अवैध हातहतियार ओसारपसार नियन्त्रणमा बिषेश जोड दिनु पर्ने दुबै पक्षको धारणा थियो ।
छलफलमा सहभागी डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्रले सशस्त्र प्रहरी र जनप्रतिनिधिविच सहकार्य र समन्वयका लागि भएको छलफल निकै सकारात्मक र राम्रो रहेको जनाउँदै यसबाट नाकाहरुमा हुनै गैर कानुनी कार्य रोक्न प्रहरीलाई सहयोग मिल्ने बताउनुभयो ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेड क्वाटर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी, नम्बर ३१ गण हेड क्वाटर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, बाँके र बर्दिया जिल्लाका सीमावर्ती वडाका सम्पुर्ण वडा अध्यक्षहरू लगायत बाँके र बर्दिया जिल्लास्थित रहेका सम्पुर्ण प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपि, प्रमुखहरूको उपस्थिति रहेको थियो ।