समाचारदाता
नेपालगन्ज, मंसिर १४ । गुलरिया नगरपालिकाको थप एक वडालाई पनि बाल विवाहमुक्त वडा घोषणा गरिएको छ । नगरपालिकाका सबै वडाहरुलाई बालविवाहमुक्त वडा घोषणा गर्ने अभियान अन्तर्गत वडा नम्बर ३ लाई पनि बालविवाहमुक्त घोषित गरिएको हो ।
प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाका वडाहरुलाई बालविवाहमुक्त वडा घोषणा गर्ने र्काक्रम अन्तर्गत वडा नम्बर तीन लाई पनि घोषणा गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
गुलरिया नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सर्वजित यादवको अध्यक्षतामा भएको भव्य समारोहबीच उक्त घोषणा गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमले नगरपालिका भरी बालविवाहलाई शून्यमा झार्ने लक्ष्य राख्दै बालविवाह उन्मूलनका लागि वडाहरुलाई बालविवाहमुक्त घोषणा गरिरहेको बताउनुभयो ।
सो अवसरमा गुलरिया नगरपालिकाबाट वरिष्ठ अधिकृत मुकुन्द अर्याल, महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह, अन्य वडा अध्यक्ष, राजनीतिक अगुवा, धर्मगुरु, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
बाँके युनेस्को क्लबका कार्यवाहक कार्यकारी निर्देशक महेश नेपालीले बालविवाहको समस्यालाई सम्बोधन गर्न सरोकारवालाहरूको महत्वपूर्ण योगदान बारे प्रकाश पार्नुभयो ।
समारोहमा पाँच भन्दा बढी समूहहरूद्वारा विभिन्न शिक्षामूलक सांस्कृतिक प्रस्तुतिहरू पनि समावेश गरिएका थिए, जसले कार्यक्रमको ऊर्जा र महत्व बढाएको थियो ।
सो कार्यक्रममा करिब ३०० जनाको सहभागिता रहेको थियो । गुलरिया नगरपालिकाका बरिष्ठ अधिकृत मुकुन्द अर्यालले संचालन गरेको उक्त कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछाने र सामाजिक परिचालन अधिकृत धिरजकुमार चौधरीको पनि सहभागिता रहेको थियो ।