२८ मंसिर २०८१, शुक्रबार

गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियान अन्तिम चरणमा

गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियान अन्तिम चरणमा

१२ वडा मध्ये ११ वटा वडा बालविवाहमुक्त घोषित
समाचारदाता
नेपालगन्ज, मंसिर १५ । बर्दियाको गुलरिया नगरपालिकाका वडाहरुलाई बालविवाहमुक्त वडा घोषणा गर्ने अभियान अन्तिम चरणमा पुगेको छ ।
नगरपालिकाका वडाहरुलाई विभिन्न प्रक्रिया पुरा गरेर बालविवाहमुक्त वडा घोषणा गर्ने कार्यक्रम अन्तर्गत वडा नम्बर ९ र १० लाई पनि शुक्रवार बालविवाहमुक्त वडा घोषित गरिएको हो ।


प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा आयोजित एक भव्य समारोहमा गुलरिया नगरपालिकाको वडा नम्बर ९ र १० लाई पनि औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियान अन्तर्गत हालसम्म नगरपालिकाका १२ मध्ये ११ वटा वडालाई बालविवाहमुक्त घोषित गरिसकिएको बताउनुभयो ।


अब वडा नम्बर २ मात्र घोषित हुन बाँकी रहेको जनाउँदै प्रमुख संरक्षक सिद्दिकीले सो वडा पनि डिसेम्बर महिना भित्र घोषित गर्ने तयारीका साथ काम भइरहेको बताउनुभयो ।
वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद पासवानको अध्यक्षतामा भएको कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले नगरपालिकाका ११ वटा वडालाई बालविवाहमुक्त घोषणा गर्न सकिएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले सो कार्यमा सहयोग गर्ने प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपप्रति आभार व्यक्त गर्नुभयो ।
वडा नम्बर ९ र १० लाई घोषित गर्ने कार्यक्रममा गुलरियाका उपमेयर सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ अधिकृत मुकुन्द अर्याल र गुलरिया नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख शीला शाहको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडा अध्यक्ष, राजनीतिक तथा धार्मिक अगुवा, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।


कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरुले गुलरिया नगरपालिकालाई छिटै बालविवाह मुक्त पालिका घोषित गर्ने लक्ष्यका साथ वडा नगरपालिकाभर बालविवाह उन्मूलनका लागि काम गरिएको बताएका थिए ।
गुलरिया नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख शीला शाहले बालविवाह न्यूनीकरणका लागि सरकार र संस्थागत प्रयासहरू बारे प्रकाश पार्दै विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभयो भने बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले बर्दिया जिल्लामा बालअधिकारको विकासमा सरोकारवालाहरूको अमूल्य योगदानको चर्चा गर्नुभयो ।


सो समारोहमा सहभागि ६०० बढीलाई आकर्षित गर्दै जीवन्त सांस्कृतिक प्रदर्शनहरू पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत ईश्वर विकले गर्नु भएको थियो भनेसामाजिक परिचालन अधिकृत धिरजकुमार चौधरीले सक्रिय सहयोग गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *