समाचारदाता
नेपालगन्ज, माघ २५ । केही दिन पहिलेसम्म ठाउँ ठाउँमा फोहोरको थुप्रो देखिने र जहाँ पायो त्यही फोहोर फालेको पाइने नेपालगन्जको मुटु मानिने त्रिभुवन चोक अहिले निकै सफा र व्यवस्थित देखिन्छ । नगर भवन अस्थायी प्रहरी पोष्टमा असई कुल बहादुर बिक आएपछि उहाँको पहल र अग्रसरतामा त्रिभुवन चोक सफा मात्र नभई चोकको ट्राफिक व्यवस्थापन समेत चुस्त दुरुस्त भएको स्थानीयले जनाएका छन् ।
असई बिकको पहल र अग्रसरतामा त्रिभुवन चोक र सो वरिपरिको क्षेत्रमा सरसफाईको निकै राम्रो व्यवस्था भएको जनाउँदै चोकमै पसल भएका राकेश कुमार गुप्ताले उहाँले आफै फोहोर हटाई अरुलाई पनि फोहोर जथाभावि नफाल्न र सफाई राख्न आग्रह गर्नु भएकोले नै अहिले चोक निकै सफा देखिएको बताउनुभयो । गुप्ताले असई बिक त्रिभुवन चोकमा आएयता सरसफाईको राम्रो व्यवस्था हुनुका साथै चोकको ट्राफिक व्यवस्थापन समेत राम्रो भएको र जहाँ पाए त्यहाँ पार्किंग गर्ने कार्य घटेको बताउनुभयो ।
सोही प्रकारले त्रिभुवन चोक नजिकका अर्का व्यवसायी हबीब अहमद जसगढले पनि अहिले चोक निकै सफा देखिएको जनाउँदै त्यसको श्रेय असई बिक र उहाँको टीमलाई जाने बताउनुभयो । सरसफाई र ट्राफिक व्यवस्थापनमा निकै सुधार आउनुका साथै सो क्षेत्रको शान्ति सुरक्षा पनि राम्रो हुँदै गएको जसगढको भनाई छ ।
असई बिक राती १२ बजेसम्म पनि ड्युटीमा खटिएको आफुले पाएको जनाउँदै उहाँको सो सक्रियताले गर्दा शान्ति सुरक्षाको अवस्था पनि थप सुदृढ हुँदै गएको सो क्षेत्रका अर्का स्थानीय जावेद राईले बताउनुभयो । केही दिन अघि ईदगाह रोडमा एकजनाको ज्यान जानेगरि मोटरसाइकल दुर्घटना गराएर फरार रहेका बाल्मिकीलाई पनि नगर भवन अस्थायी पोष्टकै प्रहरीहरुको सक्रियतामा पक्राउ गर्न सफलता मिलेको जनाईएको छ ।
देशका विभिन्न ठाउँबाट नेपालगन्ज आउने आन्तरिक पर्यटक र भारतबाट नेपालगन्ज घुम्न वा बागेश्वरी मन्दिरमा पूजा गर्न तथा खरिद विक्रिका लागि आउने पर्यटकहरु त्रिभुवन चोकमा अनिवार्य पुग्ने गरेकोले सो क्षेत्रलाई सफा र व्यवस्थित बनाउँदा नेपालगन्जकै शान बढ्ने अधिकांश स्थानीयको धारणा छ ।
त्रिभुवन चोक र सो वरिपरि कसैले पनि फोहोर फालेको वा फोहोर गरेको पाईएमा नेपालगन्ज उपमहानगरलाई जानकारी गराएर जरिवाना गराउने जानकारी त्यहाँका व्यवसायीलाई गराएपछि फोहोर जथाभावि फाल्ने क्रम हटेको र चोक सफा देखिएको असई बिकले बताउनुभयो ।