समाचारदाता
नेपालगन्ज, २३ बैशाख । यस वर्ष नेपालगन्जबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जान लाग्नु भएका हजयात्रीहरुकालागि नेकपा माओवादी केन्द्रको वडा नम्बर ५ को वडा कमिटिले सम्मान तथा शुभकामना कार्यक्रम गरेको छ ।
नेकपा माओवादी केन्द्र बाँकेका जिल्ला सदस्य वरिष्ठ समाजसेवी कल्पना शर्माको संयोजकत्वमा मंगलवार आयोजना गरिएको हजयात्रीहरुको सम्मान तथा शुभकामना कार्यक्रममा हजयात्रीहरुलाई सम्मान गर्नुका साथै उनिहरुको हजयात्रा सफलताको शुभकामना व्यक्त गरियो ।
सो अवसरमा कार्यक्रम संयोजक शर्माले हजयात्रीहरुलाई माला लगाएर सम्मान गर्नुभयो भने अन्य अतिथिहरुले टोपी लगाएर शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरका अध्यक्ष प्रेम शाहले हजयात्रामा जाने नेपालगन्जवासीलाई सम्मान गर्न पाउँदा खुशी लागेको जनाउँदै हजयात्राको सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा बोल्दै संयोजक शर्माले हजयात्रा जस्तो महान कार्यमा जानेहरुलाई सम्मान गर्न पाउनु गर्वको कुरा भएको जनाउँदै सदभावको सहरको रुपमा परिचित नेपालगन्जको धार्मिक सदभाव देशकै लागि नमुना बनेको बताउनुभयो ।
उहाँले गणतन्त्रमा मात्रै सबै धर्म समुदाय र वर्गको हक अधिकार सुनिश्चित हुने समेत बताउनुभयो ।
समाजसेवी खेम कुमारी न्यौपानेले स्वागत गर्नु भएको सो कार्यक्रममा हज कमिटिका सदस्य अलिम हलवाईले हजयात्रीहरुको सुविधा र सहुलियतका लागि हज कमिटिले सबै व्यवस्था मिलाएको जनाउँदै हजयात्रीको सम्मान गर्नु भएकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभयो ।
सो अवसरमा हज कमिटिका पूर्व सदस्य मेराज अहमद हिमालय, नेपालगन्ज मुस्लिम समाजका अध्यक्ष अब्दुल हकीम हलवाई, हाजी राशीद कमाल सिद्दिकी लगायतले पनि कार्यक्रमको सराहना गर्दै यस्ता कार्यक्रमले धार्मिक तथा सामाजिक सदभाव बृद्धि गर्ने बताउनुभयो ।
कार्यक्रममा हाजी इमाम बेहना, हाजी शरिफ बागवान, हाजी रज्जब अन्सारी लगायत अतिथिहरुको रुपमा सहभागि हुनुहुन्थ्यो । सो कार्यक्रममा नेपालगन्जबाट हजयात्रामा जाने करिब दुई दर्जन हजयात्रीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा हजयात्रामा जाने तयारीमा रहनुभएका हाजी प्यार मोहम्मद सिद्दिकीको हालै दुर्घटनामा परेर उपचारका क्रममा मृत्यु भएकोमा उहाँप्रति श्रद्धान्जली अर्पण गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो ।