समाचारदाता
नेपालगन्ज, साउन १८ । बाँके युनेस्को क्लबको सह अध्यक्षमा वरिष्ठ पत्रकारहरु निरज गौतम र सिराज खानलाई मनोनित गरिएको छ ।
बाँके युनेस्को क्लबको शनिवार यहाँ सम्पन्न ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाबाट प्रवेज अलि सिद्दिकीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्यसमितिको पहिलो बैठकले गौतम र खानलाई सह अध्यक्षमा मनोनित गर्दै सल्लाहकार र विभिन्न उपसमिति तथा फोकल पर्सन समेत चयन गरेको छ ।

क्लबका अध्यक्ष सिद्दिकीले सो जानकारी गराउँदै नयाँ कार्यसमितिको पहिलो बैठकले वरिष्ठ पत्रकारहरु गौतम र खानलाई सह अध्यक्षमा मनोनित गर्नुका साथै अन्य वरिष्ठ पत्रकारहरु झलक गैरे, रुद्र सुवेदी, नरेन्द्र थापा, कमल पन्थी, राकेश मिश्र तथा वरिष्ठ समाजसेवीहरु राजु टिबडेवाल, भिमसेन चौधरी र मुजाहिद रजा कादरीलाई सल्लाहकारमा मनोनित गरेको बताउनुभयो ।
क्लबले शनिवार सम्पन्न गरेको साधारणसभामा चालु आर्थिक वर्षमा बर्दियाको एउटा पालिका र पाँच वटा वडालाई बालविवाह मुक्त घोषणा गर्ने तथा तीनवटा टोल वस्तीलाई हरेक घरमा पढाई कुना भएको बस्ती घोषणा गर्ने निर्णय गरेको थियो ।

साधारणसभाले गरेका निर्णयहरुलाई पुरा गर्न कार्यसमितिले निरन्तर सहयोग, अनुगमन र निरिक्षण गर्ने अध्यक्ष सिद्दिकीले बताउनुभयो ।
संस्थाको ३६ औं बार्षिक साधारणसभा तथा ११ औं अधिवेसनलाई सफल बनाउन कार्यक्रममा उपस्थित हुनुहुने बाँके र बर्दियाका स्थानीय सरकारका प्रतिनिधिहरु, विभिन्न सरकारी र गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार लगायत सम्पुर्णलाई धन्यवाद दिने निर्णय पनि नयाँ कार्यसमितिको बैठकले गरेको जनाईएको छ ।
