समाचारदाता
नेपालगन्ज, साउन २३ गते । यहाँस्थित नेपाल भारत सीमानाको भारतीय क्षेत्र रूपैडीहाको वार्ड नम्बर १०, रामजानकीस्थित खाली घरको बगैंचामा बिहिबार मृत अवस्थामा भेटिएका एक नेपाली युवकको पहिचान भएको छ ।
रुपैडिहामा शव भेटिएको ती नेपाली युवक बाँके कोहलपुर ९ पिपरी झण्डहवा निवासी अरण वर्नवाल रहेको भनि परिवारका सदस्यले पहिचान गरेको भारतीय प्रहरीले जनाएको छ ।
रुपैडिहा प्रहरी चौकीका सब–इन्स्पेक्टर राहुल सरोजले दिनु भएको जानकारी अनुसार रुपैडिहास्थित एउटा खाली घरको बगैंचामा भेटिएको नेपाली युवकको बायाँ हातमा “अरुण” लेखिएको ट्याटु रहेकोमा उनकी बहिनी प्रभा वर्नवालले आफ्नो दाई भनि पहिचान गर्नु भएको हो ।
सब–इन्स्पेक्टर सरोजले मृतकको अनुहारमा गहिरो चोटको निशान देखिएको र मृत्यु दुई तीनदिनअघि नै भएको अनुमान गरिएको बताउनुभयो ।

मृत भेटिएका युवक सीमापारी लागु औषधको सेवनका लागि गएको हुनसक्ने अनुमान भारतीय प्रहरीले गरेको छ । प्रहरीले सो घट्ना बारे थप अनुसन्धान गरिरहेको पनि जनाएको छ ।
ती युवक बिहिबार मृत अवस्थामा भेटिएपछि प्रहरीले फोटोसहित सामाजिक सञ्जालमा जानकारी राखेकोले परिवारका सदस्यले उनको पहिचान गर्न सफल भएको जनाईएको छ ।
मृतक नेपालका युवक रहेको पुष्टि भइसकेकोले अब कानुनी र अन्य आवश्यक प्रक्रिया पुरा गरेर शवलाई आफन्तको जिम्मा लगाइने भारतीय प्रहरीले जनाएको छ ।
रक्षा बन्धनको पूर्व सन्ध्यामा अरुणको मृत्यु भएको खबरले वर्नवाल परिवार गहिरो शोकमा डुबेको स्थानीयले जनाएका छन् । गत वर्ष पनि रक्षा वन्धनकै बेला एक नेपाली युवकको शव रुपैडिहामा भेटिएको थियो ।
