समाचारदाता
बर्दिया, साउन २८ । २६औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बर्दियाको मधुवन र गुलरिया नगरपालिका एवं बढैयाताल गाउँपालिकामा अभिमुखीकरण, अन्तरक्रिया एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्तर्गत सो कार्यक्रम सम्पन्न गरिएको हो ।
युवाहरूले विश्वभर सामना गरिरहेका चुनौती र अवसरबारे सचेतना फैलाउने, सामाजिक समावेशितामा उनीहरूको सक्रिय सहभागिता बढाउने तथा उज्वल भविष्य निर्माणमा उनीहरूको महत्वपूर्ण भूमिकालाई उजागर गर्ने उदेश्यले हरेक वर्ष बिश्वभरि अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

गुलरिया र मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा उपप्रमुख, वडा अध्यक्ष, महिला तथा बालबालिका शाखा, स्थानीय ट्राफिक प्रहरी तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा ट्राफिक नियम, लागूपदार्थ दुरुपयोग, लैङ्गिक समानता, बालविवाह न्यूनीकरण तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी अभिमुखीकरण गरिएको थियो । साथै गुलरिया नगरपालिका–१२ मा ट्राफिक नियमसम्बन्धी जनचेतना र्याली पनि आयोजना गरिएको थियो ।

कार्यक्रमको समापन सत्रमा गुलरिया नगरपालिकाकी उपप्रमुख साबित्रा गौतमले ट्राफिक नियमबारे सचेतना फैलाउन यो कार्यक्रम महत्वपूर्ण भएको बताउँदै लागूपदार्थ दुरुपयोगका हानिकारक प्रभावबारे सचेतनाले स्वस्थ र जिम्मेवार युवा समुदाय निर्माणमा योगदान पुर्याउने बताउनुभयो ।
यस्तै, मधुवन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष आशाराम थारूले युवा क्लबको दिगोपनाकालागि शुभकामना व्यक्त गर्दै विभिन्न सुझाव र सल्लाह दिंदै विविध सचेतना कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

बढैयाताल गाउँपालिकामा भने, सो कार्यक्रमले आदर्श व्यक्तिहरूको प्रस्तुति मार्फत युवालाई प्रेरित गरेको थियो । सो कार्यक्रममा उपप्रमुख, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा इकाइ र स्थानीय युवाहरूको सहभागिता रहेको थियो ।
बालविवाहमुक्त समुदाय घोषणा र युवाशक्तिलाई सशक्त बनाउन गरेको योगदानको कदर गर्दै सोही अवसरमा बढैयाताल गाउँपालिकाले युवा क्लब, युवा नेटवर्क, बाँके युनेस्को क्लब, आवाज र केएमजेएसलाई सम्मानपत्र प्रदान गरेको थियो ।

सो अवसरमा बाँके युनेस्को क्लबका उप–निर्देशक गोविन्द प्रसाद लमिछानेले युवाको नेतृत्व विकास, शिक्षा गुणस्तर अभिवृद्धि तथा बालिका शसक्त परियोजना मार्फत किशोरीहरूको नेतृत्व क्षमता विकासका उपायहरूबारे प्रकाश पार्नु भएको थियो ।
