२१ मंसिर २०८२, शनिबार

अपांगता–मैत्री समाज निर्माणमा जोड

अपांगता–मैत्री समाज निर्माणमा जोड

समाचारदाता

नेपालगन्ज, मंसिर १९ । “सामाजिक प्रगतिका लागि अपांगता–समावेशी समाज प्रवद्र्धन” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ बर्दियाको गुलरिया नगरपालिकाद्वारा आयोजित ३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न गरिएको छ ।

बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपाल, बेस र आइएनएफ तथा अन्य सरोकारवालासँग साझेदारी गर्दै आयोजना गरिएको सो कार्यक्रममा अपांगता मैत्री समाज निर्माणमा जोड दिईएको थियो । गुलरिया नगरपालिकाकी उप–प्रमुख सबित्रा गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्दा अर्यालले विशेष सम्बोधन गर्दै अपांगता भएका व्यक्तिहरू क्षमता र योगदानमा कुनै पनि रूपमा कमजोर नभएको बताउनुभयो ।

उहाँले अपांगता भएका व्यक्तिहरूको अधिकार, क्षमता विकास र सशक्तिकरणका लागि पालिकाभित्र काम गर्दै आएका विभिन्न संस्थाका गतिविधिबारे जानकारी पनि गराउनुभयो । कार्यक्रम अन्तरक्रिया तथा समूह छलफलका माध्यमबाट संचालित गरिएको थियो । सो अवसरमा सामाजिक सञ्जालको जिम्मेवार र सुरक्षित प्रयोगबारे सहभागीलाई महत्वपूर्ण जानकारी र चेतना दिइयो ।

त्यससँगै, पालिकाभित्रका आठवटा विद्यालयबीच अन्तर–विद्यालय क्विज प्रतियोगिता आयोजना गरियो । अंकका आधारमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी तथा विद्यालयलाई पुरस्कार प्रदान गरियो भने अन्य सहभागी विद्यालयलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । सो कार्यक्रममा ७० जना भन्दा बढी सहभागी थिए, जसमा वडाका जनप्रतिनिधि, प्रधानाध्यापक तथा शिक्षक, समुदायका अगुवाहरु, सामाजिक अभियन्ता, किशोर–किशोरी तथा युवा, अभिभावक, प्रहरी, सञ्चारकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सहभागिताले अपांगता सम्बन्धी सूचनाको पहुँच विस्तार र सहानुभूति–आधारित व्यवहार अभिवृद्धिमा योगदान पुर्याएको आयोजकहरूको भनाइ छ । कार्यक्रममा बाँके युनेस्को क्लबककी अनु चौधरी, भगवती बिक र नग्मा मनिहारले विशेष प्राविधिक तथा व्यवस्थापकीय सहयोग प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *