समाचारदाता
नेपालगन्ज, पुस ३ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा राधाकृष्ण थारु जनसेवा केन्द्र र बिग्रुपसँग सहकार्य गर्दै बर्दियाको मधुवन नगरपालिका तथा ठाकुरबाबा नगरपालिकामा संयुक्त अनुगमन सम्पन्न गरेको छ ।
अनुगमन भ्रमणको मुख्य उद्देश्य कार्यक्रम अन्तर्गत सञ्चालन भएका गतिविधिहरूको गुणस्तर र प्रभावकारिता मूल्याङ्कन गर्नु, लाभग्राहीहरूको सन्तुष्टि बुझ्नु तथा स्रोत साधनको सही उपयोगको अवस्था अध्ययन गर्नु रहेको थियो ।
अनुगमनका क्रममा मधुवन नगरपालिकास्थित नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा श्रवण अपाङ्गता भएका विद्यार्थीहरूकालागि उपलब्ध गराइएका नेपाली सांकेतिक भाषा सामग्रीको प्रयोग अवस्था अवलोकन गरिएको थियो ।

त्यस्तै, ठाकुरबाबा नगरपालिका–बगनाहास्थित चुरे माध्यमिक विद्यालयमा प्रदान गरिएका विज्ञान प्रयोगशाला सामग्रीको अनुगमन गर्दै विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकसँग अन्तक्र्रिया समेत गरिएको थियो ।
यसका साथै, उद्यम विकास सहयोग प्राप्त स्थानीय पसल तथा कुखुरा पालन उद्यमहरूको पनि अनुगमन गरिएको थियो । अनुगमन भ्रमण राधा कृष्ण थारु जनसेवा केन्द्रका परियोजना संयोजक मनोज पौडेलको सहजीकरणमा सम्पन्न भएको थियो ।

उक्त अनुगमन जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर बिष्टको समन्वयमा सम्पन्न भएको थियो । अनुगमन टोलीमा जिल्ला समन्वय समिति उपप्रमुख अनिता यादव, डिसीसी प्रमुख रामबहादुर थापा, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सूर्यबहादुर खत्री, स्वास्थ्य कार्यालयकी अधिकृत पद्माकुमारी श्रेष्ठ, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर विशाल श्रेष्ठ तथा ठाकुरबाबा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्रीकृष्ण थारु लगायतको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा जिल्ला समन्वय समिति प्रमुख सूर्यबहादुर बिष्टले अपाङ्गता भएका विद्यार्थीहरूकालागि प्रदान गरिएका शैक्षिक सामग्री तथा विज्ञान प्रयोगशाला सामग्रीको प्रशंसा गर्दै ती सामग्रीहरूको प्रभावकारी र दिगो उपयोगमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै, सबै संघसंस्थाहरूले कार्यक्रम प्रारम्भदेखि लेखापरीक्षणसम्म स्थानीय सरकारसँग समन्वय गर्दै जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

अनुगमन कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ झलकमान विश्वकर्मा, बाँके युनेस्को क्लबका परियोजना अधिकृत राधेकृष्ण थारु, अनु चौधरी तथा फिल्ड सुपरभाइजर मिनु थारु, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, मुल्यांकन तथा अनुगमन अधिकृत धिराज चौधरी, बिग्रुपका प्राविधिक संयोजक जयलाल बी.के. तथा स्थानीय सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।
