समाचारदाता
नेपालगन्ज, पुस ४ । बाँकेको डुडुवा र खजुरा गाउँपालिकामा स्थानीय परियोजना सल्लाहकार समितिको स्थलगत अनुगमन तथा बैठक सम्पन्न गरिएको छ ।
एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत दुबै पालिकामा छुट्टा छुट्टै सो अनुगमन तथा बैठक सम्पन्न गरिएको हो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अनुगमन र बैठकमा डुडुुवा गाउँपालिकामा पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी लगायत पालिकाको स्वास्थ्य, कृषि र योजना शाखाको सहभागिता रहेको थियो ।

सोही प्रकारले खजुरा गाउँपालिकामा सम्पन्न बैठक र अनुगमनमा खजुरा गाउँपालिकाका प्रवक्ता धनराम वली, प्रमुख प्रशासकीय अधिकृत, कृषि अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र लगायत स्थानीय गाउँपालिकाको विभिन्न शाखा तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
दुबै बैठक र अनुगमनको सहजीकरण पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजनाका संयोजक समद सिद्दिकीले गर्नु भएको थियो भने दुबै कार्यक्रममा बिग्रुपका अध्यक्ष डा. इन्द्र बहादुर भण्डारी, कार्यकारी निर्देशक डम्मर सुनार र एम डि एम फ्रान्सबाट भुपेन्द्र कुँवरको सक्रिय सहभागिता रहेको थियो ।

स्थलगत अनुगमनको क्रममा परियोजनाका बिभिन्न क्रियाक्लापहरु निकै प्रभावकारी देखिएको र यस परियोजनाले उपेक्षित वर्ग किसानको पेशागत स्वास्थ्य लगायत सुरक्षित तरकारी उत्पादन र जैविक मल उत्पादनमा बिशेष योगदान गरेको पाईएको सल्लाहकार समितिले जनाएको छ ।

सो परियोजनाको प्रभावकारितालाई दृष्टिगत गरेर परियोजनाको समयअवधिलाई थप गर्नु पर्ने निष्कर्श सल्लाहकार समितिले निकालेको छ ।
स्थलगत अनुगमनका क्रममा एकिकृत शत्रुजीव व्यवस्थापन सिकाइ केन्द्र, स्वास्थ्य चौकी, सहकारी र कृषकहरुको आर्गेनिक तरकारी उत्पादनको अवलोकन गरिएको थियो ।

