समाचारदाता
नेपालगन्ज, माघ १० । बाँके क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले परिवर्तन, सुशासन र अवसरलाई केन्द्रमा राख्दै यथार्थपरक र कार्यान्वयनमुखी अपील गर्नुभएको छ। वर्षौंदेखि दोहोरिँदै आएका समस्या समाधानका लागि आफुले ठोस बाटो देखाउने उहाँले अपिलमार्फत जनाउनुभएको छ ।
अपीलमा बाँके–२ ले पटक–पटक परीक्षण गरिसकेको पुरानो राजनीतिक अभ्यासबाट बाहिर निस्केर नयाँ सोच र नतिजामुखी नेतृत्व आवश्यक रहेको उल्लेख छ। बिष्टले आफू जनताको बीचबाट आएको प्रतिनिधि भएको बताउँदै विकासको मूल आधार इमानदारी, समावेशिता र प्रविधिको सदुपयोग हुने स्पष्ट पारेका छन्।

भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्दै बिष्टले सरकारी बजेट, योजना र ठेक्काको विवरण अनलाइन सार्वजनिक गर्ने, डिजिटल उजुरी प्रणाली लागू गर्ने र वडा–तहमा सार्वजनिक सुनुवाइ अनिवार्य गर्ने प्रस्ताव अघि सार्नुभएको छ । यसले शासन प्रणालीप्रति जनविश्वास बढाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, नागरिकता, सिफारिस, कर र शुल्कजस्ता सेवा अनलाइनमार्फत उपलब्ध गराउने योजना समेटिएको छ। यसले सर्वसाधारणलाई कार्यालय धाउनुपर्ने झन्झट घटाउने र सेवा छरितो बनाउने विश्वास लिइएको छ।

अपीलमा नेपालगन्जलाई आईटी र नवप्रवर्तनको केन्द्र बनाउने लक्ष्य पनि अघि सारेको छ। टेक पार्क स्थापना, युवालाई कोडिङ तथा डिजिटल सीप तालिम, र स्टार्टअपका लागि कर छुट तथा सहुलियत ऋणको व्यवस्था गरी रोजगारी सिर्जनामा जोड दिइने उल्लेख छ।
राप्ती नदीको दीगो व्यवस्थापनमार्फत बाढी समस्याको स्थायी समाधान, वैज्ञानिक तटबन्ध निर्माण, व्यावसायिक कृषि प्रवर्द्धन र बाढी व्यवस्थापनमा स्थानीय समुदायको निर्णायक सहभागिता सुनिश्चित गर्ने योजना पनि उहाँले अघि सार्नु भएको छ ।

स्पष्ट लक्ष्य, व्यवहारिक योजना र सरल भाषामा प्रस्तुत अपीलले बाँके–२ मा परिवर्तन सम्भव छ भन्ने विश्वास बलियो बनाएको स्थानीयको प्रतिक्रिया छ ।
