समाचारदाता
बर्दिया, चैत १३ । बाँके यूनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा सञ्ंचालन गरिएको ग्रिन इकोनोमी, यति र सुरक्षा परियोजना अन्तर्गतका विभिन्न कार्यक्रमहरुको संयुक्त फिल्ड अनुगमन तथा अवलोकन कार्य सम्पन्न भएको छ ।
फिल्ड अनुगमन कार्यक्रमको उद्देश्य परियोजनाको प्रगति अवलोकन गर्नु, परियोजना लाभग्राहीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्नु तथा समुदायस्तरमा परियोजनाबाट देखिएका सकारात्मक परिवर्तनको मूल्याङ्कन गर्नु रहेको थियो ।

विशेषगरी परियोजनामार्फत प्रदान गरिएका सामग्रीहरूको प्रयोग अवस्था, हरित व्यवसाय सुरु गरेका युवती उद्यमीहरूको प्रगति तथा परियोजनाको प्रभाव र उपलब्धिहरूको प्रत्यक्ष अवलोकन गरिएको क्लबले जनाएको छ ।
ग्रिन इकोनोमी परियोजना अन्तर्गत टोलीले ठाकुरबाबा नगरपालिका–३ मा सविता थारुद्वारा सञ्चालन गरिएको कुखुरा पालन व्यवसायको अवलोकन गरेको थियो । परियोजनाबाट प्राप्त सहयोगले उनी आत्मविश्वासका साथ आफ्नो व्यवसाय सञ्चालन गरिरहेकी देखिएको टोलीले जनाएको छ ।
त्यसैगरी ठाकुरबाबा नगरपालिका–२ मा सञ्चालनमा रहेको ३० दिने व्यावसायिक सीप विकास तालिम केन्द्रको पनि अवलोकन गरिएको थियो, जहाँ युवतीहरू आयआर्जनका लागि व्यावहारिक सीप सिकिरहेका छन् ।

यसै क्रममा राजापुर नगरपालिका–८ मा गीता थारुद्वारा सञ्चालन गरिएको वेतबाँस हस्तकला व्यवसायको पनि टोलीले अवलोकन गरेको थियो । परम्परागत सीपलाई परियोजनाको सहयोगमार्फत दिगो आयआर्जनमा रूपान्तरण गरिएको यो उदाहरणलाई टोलीले सकारात्मक उपलब्धिको रूपमा लिएको जनाएको छ ।
सोही प्रकारले यति परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिका–५ मा नवचयन गरिएका युवा–युवतीहरूसँग टोलीले अन्तरक्रिया गरेको थियो । उनीहरूको छनोट प्रक्रिया, भविष्यका योजना, लक्ष्य तथा आर्थिक गतिविधिमा सहभागी हुने आत्मविश्वासबारे छलफल गरिएको थियो ।

त्यसैगरी सुरक्षा परियोजना अन्तर्गत अपाङ्गमैत्री शौचालय, हात धुने स्टेसन तथा बालविकास कक्षामा गरिएको मर्मत सहयोगको पनि अवलोकन गरिएको थियो । भेरी माध्यमिक विद्यालयमा विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट गरिएको थियो भने स्टीक एण्ड स्टोन सत्रमा सहभागी भएका विद्यार्थीहरूसँग अन्तरक्रिया गरिएको थियो । अभिभावक शिक्षा कार्यक्रममा सहभागी अभिभावक समूहसँग छलफल गर्दै मानव बेचबिखनसम्बन्धी सचेतना तथा “माया च्याट बोर्ड” प्रयोगबारे पनि जानकारी आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मिना पराजुली, फाइनान्स स्पेसलिस्ट रमेश खत्री, बाँके यूनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दीकी, कार्यकारी निर्देशक रवि कुमार तुलाधर, बोर्ड सदस्य मिना थारु, भावुक जंग थापा, राज कुमार खड्का, ईश्वर बिके, राधे कृष्ण थारु लगायत फिल्ड कर्मचारीहरूको सहभागिता रहेको थियो ।
अनुगमनको अन्त्यमा प्लानका क्षेत्रीय प्रबन्धक पराजुलीले परियोजनाबाट सहयोग प्राप्त गरेका विद्यालयहरूले उपलब्ध गराइएका सामग्रीहरूको नियमित अनुगमन तथा संरक्षणमा सक्रिय भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो ।

साथै हरित व्यवसाय सञ्चालन गरिरहेका युवती उद्यमीहरूलाई निरन्तर प्रोत्साहन र अनुगमन आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
