युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँचदिने प्रशिक्षक प्रशिक्षण सम्पन्न

समाचारदाता
बर्दिया, कात्तिक १६ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजना अन्तर्गत युवा नागरिक स्कोर कार्ड सम्बन्धी पाँचदिने प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ ।
सो तालिममा बर्दिया जिल्लाका मधुवन, गुलरिया र ठाकुरबाबा नगरपालिकाका २० जना युवा स्वयंसेवक तथा परियोजनाका कर्मचारीसहित जम्मा ३० जनाको सहभागिता रहेको थियो ।


तालिमको मुख्य उद्देश्य युवाहरूको सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता मूल्याङ्कन गर्ने क्षमता अभिवृद्धि गर्नु, बालबालिका, किशोरकिशोरी तथा युवाहरूको अधिकार प्रवद्र्धन गर्नुका साथै विशेषगरी सीमान्तकृत तथा पछाडि पारिएका समुदायको सार्वजनिक सेवामा समान र सहज पहुँच सुनिश्चित गर्न युवाहरूको भूमिका सुदृढ गर्नु रहेको थियो ।
तालिमका क्रममा सहभागीहरूले सरकारी विद्यालय तथा स्थानीय सरकारबाट प्रवाह हुने सेवाको गुणस्तर मूल्याङ्कन गर्ने, सेवाग्राही तथा अभिभावकको सन्तुष्टिको अवस्था विश्लेषण गर्ने, सेवा प्रदायकहरूको भूमिका तथा जिम्मेवारीको समीक्षा गर्ने र सेवा प्रवाहमा रहेका सबल पक्ष, चुनौती तथा सुधार गर्नुपर्ने क्षेत्रहरू पहिचान गर्ने विषयमा सैद्धान्तिक ज्ञान तथा व्यावहारिक सीप हासिल गरेका थिए ।


तालिम समापन समारोह बाँके युनेस्को क्लबका सहअध्यक्ष निरज कुमार गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट प्रमुख अतिथिका रूपमा तथा प्लान इन्टरनेशनल नेपाल, सुर्खेतकी क्षेत्रीय कार्यक्रम प्रबन्धक मीना पराजुली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
समापन सत्रमा सहभागीहरूले परियोजनाको अवधि समाप्त भएपछि पनि युवा नागरिक स्कोर कार्डको अवधारणालाई निरन्तरता दिनुपर्ने आवश्यकतामाथि जोड दिँदै तालिमबाट प्राप्त ज्ञान, सीप तथा अनुभवलाई आ–आफ्नो समुदायमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले युवाहरू समुदायका अमूल्य सम्पत्ति तथा सकारात्मक सामाजिक रूपान्तरणका महत्वपूर्ण संवाहक भएको उल्लेख गर्दै बालविवाह, लागुऔषध दुरुपयोग तथा अन्य हानिकारक सामाजिक अभ्यासविरुद्धका अभियानमा युवाहरूले सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।


त्यसैगरी, विशिष्ट अतिथि प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय कार्यक्रम प्रबन्धक मीना पराजुलीले युवाहरूको सक्रिय सहभागिता तथा सरोकारवाला निकायहरू बीचको आपसी सहकार्य र समन्वयबाट बालबालिका तथा किशोरीहरूको अधिकार संरक्षण र सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
उहाँले बालअधिकार सुनिश्चित गर्न तथा किशोरीहरूको सशक्तीकरणलाई थप प्रभावकारी बनाउन युवाहरू र सम्बन्धित सरोकारवालाहरूको साझा प्रयास महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।


बाँके युनेस्को क्लबका सहअध्यक्ष निरज कुमार गौतमले समाजमा सकारात्मक परिवर्तन ल्याउन किशोरकिशोरी तथा युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समुदायस्तरका अभियान तथा पहलहरूमा युवाहरूले आत्मविश्वास, जिम्मेवारीबोध र जवाफदेहिताका साथ नेतृत्व लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सो पाँचदिने तालिमको सहजीकरण रोशन तिमिल्सेनाले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *