१६ बैशाख २०८१, आईतवार

स्किजोफ्रेनिया – भ्रम र यथार्थ

स्किजोफ्रेनिया – भ्रम र यथार्थ

-डा मो ऐनुद्दीन बागबान
विश्वभरी हरेक वर्ष मई २४ तारिखको दिन विश्व स्किजोफ्रेनिया दिवस मनाइने गरिन्छ। जसको शुरुवात सन् १९८६ देखि भएको थियो। यसको मुख्य उद्देश्य विश्वमा स्किजोफ्रेनियाबारे जनचेतना एवंजागरुकता फैलाउने तथा यससम्बन्धि समाजमा विद्यमान गलत धारणाहरुलाई निर्मूल पार्नेहो। विश्व स्वास्थ्य संगठन अनुसार, झण्डै १ प्रतिशत जनसंख्या स्किजोफ्रेनियाबाट पीडित रहेको पाइन्छ । एउटा अध्ययन अनुसार, यसरोगबाट ग्रसित व्यक्तिहरुले उचित औषधि उपचार नपाएर करीब २५ देखि ३० प्रतिशत बिरामीहरु गंभीर अवस्थामा पुगी आत्महत्यागर्ने गरेको पाइएकोछ। सिजोफ्रेनिया एउटा दीर्घकालीन कडा मानसिक स्वास्थ्य समस्या हो। जसलाई निम्न लक्षणहरुबाट पहिचान गरिन्छ।
स्किजोफ्रेनियाका लक्षणहरु
बिना आधार कुनै गलत बिश्वासमा अडिग रहने
नभएको आवाज सुन्ने र नभएको कुरा देख्ने
लक्ष्यहीन तथा अव्यवस्थित क्रियाकलापहरू
अर्थहीन बोलिचालि, आफैं बर्बराउने, आफैं हास्ने, अरुमाथि शंका उपशंका बढी गर्ने, मानिसहरु मेरो कुरा काट्दैछन्, पछिलागेका छन्, षड्यन्त्र गर्दैछन भन्ने आधारहीन कुरागर्ने, बिनाकाम हिड़ी राख्ने, सरसफाईमा ध्यान नदिने।
हाम्रो समाजमा स्किजोफ्रेनिया सम्बन्धी सही जानकारी नभएको कारण धेरै भ्रम एवं भ्रान्तिहरु विद्यमान छन्। समाजमा व्याप्त अल्पज्ञान तथा अन्धविश्वासको कारणले गर्दा, स्किजोफ्रेनियाको समयमै पहिचान तथा उपचार हुनसकेको छैन।फलस्वरूप बिरामीहरुको अवस्था दिनप्रतिदिन गम्भीर हुँदै जान्छ। समयमै यी भ्रमहरू हटाउनकोलागि जनचेतना फैलाउनु अत्यन्त जरुरी छ ।यसकार्यमा घरपरिवार लगायत समाज र सरकारको अहम भूमिका रहेकोछ । तसर्थ सरकार तथा सम्बन्धित निकायहरूले स्किजोफ्रेनियाबारे समाजमा सही ज्ञानलाई व्यापक बनाउन उचित पहल गर्न अतिनै आवश्यक छ।
भ्रम – स्किजोफ्रेनिया कुलदेवता रिसाएको, ग्रहदशा बिग्रेको, लागोभागो आदि भएको कारणले गर्दा हुने गर्दछ।
यथार्थ – स्किजोफ्रेनियाको वास्तविक कारण मस्तिष्कमा हुने विशेष रासायनहरुको असन्तुलन हो। जसको पछाडि समाजमा विद्यमान गरिबी, बेरोजगारी, अन्याय, शोषण आदिले बनाएको तनावपूर्ण जीवनशैली तथा डर, त्रास, असफलता, बिछोड, जनधनको क्षति, नशालु एवं लागू पदार्थको सेवन, दीर्घकालीन रोगहरुले गर्दा हुने मनको अशान्ति जस्ता मानसिक तनाव गराउने विभिन्न कारकतत्वहरुको मुख्य भूमिका रहेको हुन्छ।
भ्रम – स्किजोफ्रेनिया पुजापाठतथा झारफुकबाट सन्चोहुन्छ ।
यथार्थ – मस्तिष्कमा भएका विभिन्न रसायनहरुको गडबडीलाई झारफुक गरि सन्तुलनमा ल्याउन सकिन्दैन। तैपनि झारफुकबाट कैयौं विरामीहरु सन्चो भएका छन् भन्ने कुरा आउने गर्दछ। यथार्थ के हो भने सामान्य खालका मानसिक समस्याहरु बिस्तारै आँफै पनि ठिक हुन्छन। साथै यसको एबिअभदय भाभअत ले पनि समस्यालाई नियन्त्रणमा ल्याएको पनि हुन् सक्दछ। तर प्रायः समस्याहरु विशेष गरी कडा खालका मानसिक स्वास्थ्य समस्याहरुको उपचार औषधिबाट मात्र सम्भव छ। झारफुकको नाममा विरामीलाई औषधि उपचारबाट वंचित राख्नु भनेको उसको मानव अधिकार हनन गर्नु हो।
भ्रम – स्किजोफ्रेनियाभएका व्यक्तिहरू आक्रामक हुन्छन्
यथार्थ – स्किजोफ्रेनिया भएका केही व्यक्ति मात्र बढी उत्तेजित भएरआक्रामक हुन सक्छन् बरु प्रायः जसो तिनीहरु स्वयंनै हिंसा र आक्रमणको जोखिममा हुन्छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक १० मध्ये ९जना विरामीहरु कुनै न कुनै रूपमा दुर्व्यवहारको शिकार भइरहेका हुन्छन्। जसलाई नियन्त्रण गर्नु समाज र सरकारको कर्तब्य हो। ग्रसित व्यक्तिहरूलाई बाधेर राख्ने चलन परापूर्वकालदेखिको हो।कति चाहिं बाधेको अवस्थामा विभिन्न संक्रामक रोगको शिकार भएर या भोकले मर्दछन्।
भ्रम – स्किजोफ्रेनिया कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरूलाई मात्र हुन्छ।
यथार्थ – स्किजोफ्रेनिया जुनसुकै आर्थिक अवस्था भएका व्यक्तिलाई पनि हुन सक्छ। हुनत स्थिर र सम्पन्न समाजभित्र पनि यस्ता समस्याहरु पनि पाइन्छन। तर, जुन समाज अत्यन्त द्रुतगतिमा परिवर्तन भइरहेको छ, त्यहाँ यस्ता समस्याहरुपनि तीब्र गतिमा भइरहेको हुन्छ।
भ्रम – स्किजोफ्रेनिया भएका व्यक्तिले काम गर्न सक्दैनन्।
यथार्थ – औषधि उपचारका साथै समाजले सहानुभूति, भावात्मक सहारा, स्नेहपूर्ण व्यवहार गरिदिएकोमा तिनीहरु पूर्ण रुपमा निको हुन्छन। फलस्वरूप समाजमा तिनीहरु पनि हामी जस्तै सामान्य जीवन निर्वाह गर्न सक्षम हुन्छन।अवसर र सहयोग पाएमा अन्य स्वस्थ व्यक्ति सरह काम गर्न सक्छन्र गरिरहेका पनि छन्।
भ्रम – विवाह गरेपछि यो समस्या ठीक हुन्छ।
यथार्थ – प्रायःजसो मानसिक स्वास्थ्य समस्याहरु विवाह पश्चात झन बढी च्यापेर आउछन र कसैकसैलाई विवाहपश्चात् पनि उत्पन्न हुन्छ।
भ्रम – एकपल्ट स्किजोफ्रेनिया लागेपछि ठीक हुँदैन।
यथार्थ – स्किजोफ्रेनिया लागेको व्यक्तिहरूपनि समयमै उचित उपचार पाए ठीक हुन्छन।समयमै उपचार नगर्दा मनोरोग पनि बढेर जटिल हुन पुग्छ जसकोलागि लामो समयसम्म औषधी खानु पर्नेअवस्था हुन्छ।ठीक भएको व्यक्तिको रोग बल्झिने सम्भावना केहिहदसम्म भएतापनि उनीहरू धेरै अवस्थाहरूमा आफ्नो जिम्मेवारी बहनगर्दै सामान्य जिन्दगी बिताउन सफल हुन्छन भन्ने हामीले बुझनु जरुरीछ।                          ( लेखक नेपालगंज मेडिकल कलेजका नशा, यौनतथा मनोरोग विशेषज्ञ हुन )  ainuddin.md@gmail.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *