उद्धव थापा
काठमाण्डौ, पुस १३ । आइतवार मध्याह्नसम्म सत्ताको पासा यसरी पल्टेला भन्ने आकलन कमैले गरेका थिए । कांग्रेस नेतृत्वको गठबन्धनमा तारन्तार छलफल जारी थियो । गठबन्धनको औचित्य बाँकी रहेको दाबी नेताहरूले गरिरहकै थिए ।
तर, मध्यान्नबाट दिन बिस्तारै ढल्किँदै गर्दा सत्ताको पासा यसरी पल्टियो कि धेरैले चित् खाए, के भयो हँ ? कांग्रेसको सिंगो पंक्ति स्तब्ध भयो । एमाले र माओवादी वृत्तमा उत्साह भरिँदै गयो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउँसो ४ नबज्दै एमालेको सहयोगमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने निर्णय भयो ।
शनिवार दिउँसोसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सार्वजनिक मञ्चबाट गाली गरिरहेका थिए । त्यसको २४ घण्टा पनि नबित्दै कसरी सहकार्य सम्भव भयो ? आश्चर्यसहित धेरैले गर्ने यही प्रश्न उत्तर यहाँ समेटिएको छ ।
एमालेको गुपचुप मुभ
निर्वाचनको नतिजा आएपछि सरकार गठनको विषयमा एमालेका नेताहरूले भन्ने गरेको एउटै वाक्यांश थियो– हामी पर्ख र हेरको अवस्थामा छौं । तर, एमालेका नेताहरू पर्खेर हेरिरहेका मात्रै थिएनन् । सम्भव भएसम्मका सबै प्रयास गरिरहेका थिए ।
ओलीका विश्वासपात्र नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल फिल्डमा थिए । तर, उनीहरूले कुनै पनि चाल बाहिरिन दिएनन् । माओवादी केन्द्रका नेताहरूलाई भेटेको विषयमा प्रश्न गर्दा सिधै नकार्थे र भन्थे– ‘मलाई कोट गरेर लेख्नुहोला, एमाले यसपटक प्रमुख प्रतिपक्षी हो ।’
एमालेका नेताहरूले केहीपटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटे, तर त्यो भेटबारे कुनै कुरा सार्वजनिक भएन । केपी ओलीले बधाई दिन गरेको फोन सत्ता बार्गेनिङका लागि प्रयोग गरेको भनेर शुरूमा बालकोट रूष्ट थियो । पछि भने भेटवार्ता गोप्य राख्ने शर्तमा प्रचण्डसँग केहीपटक भेट भएको एमालेका एक नेताले स्वीकारे । एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रचण्डसँग संवाद गरेका थिए ।
यता माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दुईपटक बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेको ती नेताले जानकारी दिए । माओवादी केन्द्रका महासचिव देव गुरुङ बालकोट गएको कुरा भने सार्वजनिक भएको थियो ।
पछिल्लो समय एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेता निरन्तर सक्रिय रहे । ‘प्रचण्ड गठबन्धनको बैठकमा गइरहनुभएको कारण उहाँसँग भेट्नु उपयुक्त थिएन । दोस्रो तहका नेतामार्फत संवादमा थियौं’, ती नेताले भने ।
रवि लामिछानेले पनि एमाले अध्यक्ष ओलीसँग एकपटक र दोस्रो तहका नेताहरूसँग केही राउन्ड संवाद गरेका थिए ।
सहमति बनाउने प्रयासबारे जानकार एक नेताले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर लामिछानेले प्रचण्डलाई भेटेका थिए । लामिछानेचाहिँ केपी ओली नै प्रधानमन्त्री हुनुपर्छ भन्ने पक्षमा थिए । तर, त्यस्तो परिस्थिति नबन्दा प्रचण्डलाई पनि सहयोग गर्न सकिने उनको कुरा थियो ।’
त्यसबाहेक, एमालेका नेताहरू राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतसँग पनि निरन्तर संवादमा थिए ।
‘माओवादीबाहेक हामी १३३ सीटको समर्थन लिएर बसेका थियौं । माओवादी केन्द्रका नेताहरू संवादमा थिए । कांग्रेसले पनि विभिन्न प्रस्ताव पाठइरहेको थियो’, एमालेका ती नेताले भने ।
ओली र प्रचण्डबाट उस्तै आशयको जवाफ आएपछि बालुवाटारमा एक्कासि सन्नाटा छायो । ओलीलाई पर्खिएर बसेका नेताहरूको पसिना छुट्यो । त्यतिबेला उनीहरूले बल्ल थाहा पाए– ओलीको ‘सर्जिकल स्ट्राइक’ले सत्ताको शक्ति बालकोट पुगिसकेको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा पनि टेलिफोन संवादमा थिए । ओलीले देउवालाई भनेका थिए, ‘प्रचण्डलाई सत्ता बाहिर राख्नुपर्छ । तपाईं हामी मिलेर सरकार बनाउने हो । ढुक्क हुनुस् । प्रचण्डलाई प्रधानमन्त्री दिने कुरै हुन्न ।’
देउवाले नपेलेसम्म प्रचण्ड कांग्रेससँगको सहकार्य तोड्न तयार हुँदैनन् भन्ने ओलीको बुझाइ थियो । जुन सही पनि सावित भयो ।
ओलीको कुरा ढुक्कसँग विश्वास गरेका देउवा आफू प्रधानमन्त्री हुनेमा विश्वस्त थिए । आइतबार दिउँसो पनि ओली र देउवाबीच संवाद भएको थियो । ओलीले आफू दिउँसो ३ बजे बालुवाटार आउने भन्दै समय दिएका थिए । समय नै तोकेर बालुवाटार आउने भनेपछि गठबन्धन बैठकमा देउवा टसमस भएनन् ।
अघिल्लो दिन सार्वजनिक समारोहबाटै प्रचण्ड प्रधानमन्त्री हुने सम्भावना टरेको बताएर ओलीले एकातिर प्रचण्डलाई प्रेसर क्रिएट गरेका थिए भने अर्कातर्फ देउवालाई यिनीहरू मिल्दैनन् भन्ने पार्न पनि सफल भएका थिए । दोउवाको बुझाइ तत्काल ओली–प्रचण्ड मिल्दैनन् भन्ने नै थियो ।
प्रचण्ड बालुवाटारबाट खुमलटार हुँदै बालकोट पुगेपछि देउवाले ओलीलाई फोन गरे । ओलीले भने प्रचण्ड आउँदै गरेको र उनको कुरा सुनेपछि मात्रै जवाफ दिने बताइदिए ।
बालकोटमा छलफल भइरहँदा ओलीलाई ५ वर्ष नै प्रधानमन्त्री बनाइदिने गरी लिखित सहमति दिने भन्दै देउवाले फोन गरेका थिए ।
यस्तै आशयको फोन सँगै रहेका प्रचण्डलाई पनि आएको थियो । तर, प्रचण्डले अहिलेका लागि आफू निकै अगाडि बढिसकेको भन्दै फेरि त्यस्तो परिस्थिति बनेमा छलफल गर्ने जवाफ दिए ।
ओली र प्रचण्डबाट उस्तै आशयको जवाफ आएपछि बालुवाटारमा एक्कासि सन्नाटा छायो । ओलीलाई पर्खिएर बसेका नेताहरूको पसिना छुट्यो । त्यतिबेला उनीहरूले बल्ल थाहा पाए– ओलीको ‘सर्जिकल स्ट्राइक’ले सत्ताको शक्ति बालकोट पुगिसकेको थियो ।
के–के भयो बालकोटमा ?
प्रचण्ड बालुवाटारबाट ‘गठबन्धनको औचित्य सकियो’ भनेर बाहिरिएपछि बालकोट जान लागेको खबर सार्वजनिक भयो । आइतवार दिउँसो सबैभन्दा पहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ओलीनिवास बालकोट पुगेका थिए । उनी सरकारलाई समर्थन गर्ने वचन दिएर फर्किए । लिङ्देन बालकोटमै हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई पनि बालकोट पुगेका थिए ।
त्यसपछि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन बालकोट पुगे ।
ओलीसँग उनीहरूको प्रारम्भिक कुराकानी भएपछि सचिवालयको टीमसहित प्रचण्ड बालकोट पुगेका थिए । ओली निवासको बैठक कक्षमा प्रचण्ड प्रवेश गर्दैगर्दा ओलीले भनेका थिए, ‘तपाईंलाई त क्रेन नै लगाएर यहाँ ल्याउनुपर्यो । कति गाह्रो भएको हो यहाँ आउन ?’
प्रचण्डले मुस्कुराउँदै रवि लामिछानेतर्फ हेर्दै जवाफ दिए, ‘आउन खोज्दै थिएँ । रविजीले पनि बालकोट आउनुपर्यो भन्नुभएको थियो ।’
प्रचण्ड बोलिनसक्दै रविले भने, ‘अध्यक्ष केपी शर्मा ओलीज्यूकै प्रस्तावमा त म तपाईंलाई भेट्न गएको हुँ ।’
यससँगै बैठकमा रहेका नेताहरूका बीचमा स्वागत अभिवादन आदानप्रदान भयो । केही अनौपचारिक कुराकानी भए ।
बैठकलाई औपचारिकता दिँदै एमाले अध्यक्ष ओलीले संवाद शुरू गरे । आफ्ना केही कुरा राखे । ओलीले भने, ‘यसअघि कहाँ के भयो, कसले के गर्यो, त्यो विषयमा कम्तीमा आजको ५ बजेसम्म कुरा नगरौं ।’ ओलीलाई बीचमै हस्तक्षेप गर्दै रवि बोले– किन ५ बजेसम्म मात्रै रु आगामी ५ वर्ष नै विगतका कुरामा नजाऔं न । अब भविष्यका कुरा मात्रै गरौं ।
त्यसपछि ओलीले प्रचण्डतिर हेर्दै भने, ‘प्रधानमन्त्री हुनुपर्यो भनेर आउनुभएको होइन त ?’ प्रचण्डले थोरै रोकिएर भने, ‘खासमा त्यही कुरो हो । यसमा लुकाउनुपर्ने के नै छ र रु’ प्रचण्ड धेरै बोलेनन् । ओलीले बैठक कक्षमा रहेका अरूलाई सोधे, ‘उहाँ प्रधानमन्त्री बन्ने भन्नुहुन्छ, के छ तपाईंहरूको विचार ? ’
बैठकमा रहेका रवि लामिछानेले भने, ‘मैले त एमाले अध्यक्षलाई नै प्रधानमन्त्री बनाऔं भनेको हो । तर, उहाँ प्रचण्ड प्रधानमन्त्री हुँदा पनि हाम्रो साथ रहन्छ ।’
बैठकमा छलफल हुँदै गर्दा प्रचण्डले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पनि बोलाउन लगाए । प्रचण्डलाई प्रधानमन्त्री बनाउने र एजेन्डामा आधारित रहेर सहकार्य गर्ने सहमति बन्यो ।
ओलीले फेरि सोधे, ‘यति भएपछि राष्ट्रपति र सभामुख भन्ने चिजचाहिँ एमालेले पाउँछ होला नि ?’ ओलीको प्रस्तावमा प्रचण्डले थोरै अब्जेक्सन जनाए । उनले भने– सभामुख पनि आधा–आधा कार्यकाल गर्ने कि ?
ओलीले जवाफ दिए– त्यसो भए कार्यकाल सभामुखको कुरा पछि नै गरौंला । ओलीको सहमति नै रहेको बुझेर प्रचण्डले थप प्रतिबद्धता खोजेनन् ।
अन्तिममा राष्ट्रपति र सभामुख दुवै एमालेले नै पाउने गरी सहमति बनेको बैठकमा सहभागी एक नेताले बताए ।
सर्जिकल स्ट्राइक’का ५ सारथि
यो सहकार्य सम्भव तुल्याउने मुख्य ५ पात्रहरू छन् । एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रका महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ।
एमालेका नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शमा राजनीतिक मुभ चालिरहेका थिए । माओवादी केन्द्रमा भने वर्षमान पुन नै निर्णायक जस्ता थिए ।
त्यसपछि ओलीले प्रचण्डतिर हेर्दै भने, ‘प्रधानमन्त्री हुनुपर्यो भनेर आउनुभएको होइन त ?’ प्रचण्डले थोरै रोकिएर भने, ‘खासमा त्यही कुरो हो । यसमा लुकाउनुपर्ने के नै छ र रु’ प्रचण्ड धेरै बोलेनन् । ओलीले बैठक कक्षमा रहेका अरूलाई सोधे, ‘उहाँ प्रधानमन्त्री बन्ने भन्नुहुन्छ, के छ तपाईंहरूको विचार ?’
मंसिर ४ मा भएको निर्वाचनको नतिजा आएसँगै सरकार गठन र नेतृत्व चयनका विषयमा दलहरू आन्तरिक र अन्तरपार्टी संवादमा थिए ।
चुनावअघि पानी बाराबारको सम्बन्धमा रहेका ओली र प्रचण्डबीच संवादको ढोका एमाले अध्यक्ष ओलीले नै खोलेका थिए । मंसिर १० मा उनीहरूबीच टेलिफोन संवाद भयो र बधाई साटासाट गरे । अहिलेको सहकार्यको प्रस्थानबिन्दु नै त्यही थियो ।
कांग्रेसप्रति माओवादी बुझाइ
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ता गठबन्धनबाटै प्रधानमन्त्री बन्न चाहन्थे । तर, निर्वाचनको नतिजापछि माओवादीभित्र दुई धार थियो ।
लमजुङबाट चुनाव हारेका महासचिव देव गुरुङ र अर्का नेता वर्षमान पुन कांग्रेससँग लामो समय सहकार्य गर्न नसकिने निष्कर्षसहित एमालेसँग संवादमा थिए । उनीहरूलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको साथ रह्यो ।
अर्को खेमा, अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेतहरू भने कांग्रेस नेतृत्वको गठबन्धन नै कायम राख्नुपर्ने पक्षमा थिए । कांग्रेसको सहयोगमा चुनाव लडेर सरकार बनाउन एमालेको खेमामा जानु ‘अनैतिक’ हुने उनीहरूको तर्क थियो ।
माओवादीभित्रको पछिल्लो उकुसमुकुस सुनाउँदै एक नेताले भने, ‘कांग्रेससँग मिलेर सरकार बनाउँदा पार्टी बन्दैन । अर्को चुनावमा कांग्रेसले सँगै लैजाँदैन । त्यसबेला एमालेले पनि विश्वास गर्दैन । सकेसम्म एमालेसँगै मिलेर सरकार बनाउनुपर्छ भन्ने मत ठूलो थियो । अध्यक्षले त्यसलाई स्वीकार्नुभएको थिएन ।’
अर्कातर्फ, कांग्रेसको सहयोगमा प्रधानमन्त्री हुँदा कमजोर हुने र कांग्रेसले सडक र सदन दुवैतर्फबाट अप्ठ्यारोमा पार्न सक्ने विश्लेषण माओवादीमा थियो ।
‘कांग्रेसमा संस्थापनइतर खेमा आक्रामक हुँदै आएको छ । गगन र विश्वप्रकाशहरूले सडक र सदन दुवै ठाउँबाट कस्ने रणनीति अपनाउँछन् । कांग्रेसकै सहयोगमा सरकार बनाउँदा पनि नतिजामुखी काम गर्न सकिँदैन भन्ने विश्लेषण थियो’, ती नेताले भने ।
तर, अझै पनि प्रचण्ड भने कांग्रेसकै सहयोगमा प्रधानमन्त्री हुन चाहन्थे । एमालेलाई साइजमा राख्नुपर्छ भन्ने मनोविज्ञानले उनलाई कांग्रेसतिरै नजिक पुर्याइरहेको थियो । अर्को कुरा चुनावअघिको गठबन्धन तोडिहाल्ने उपयुक्त बहाना पनि उनलाई थिएन ।
पछिल्लो राजनीतिक घटनाक्रममा प्रत्यक्ष सहभागी रहेका एक नेता भन्छन्, ‘कतिपय विषयमा भारतीय र अमेरिकी दबाब पनि प्रचण्डले महसूस गरेको हुनुपर्छ । कांग्रेसको सहयोगमा प्रधानमन्त्री हुँदा शक्ति केन्द्रको घेराउमा परिँदैन भन्ने पनि प्रचण्डको बुझाइ थियो ।’
तर, कांग्रेसका नेताहरू भने प्रचण्डलाई कुनै हालतमा प्रधानमन्त्री नदिने पक्षमा थिए । प्रधानमन्त्री पत्नी डा। आरजू राणा, नेताहरू विमलेन्द्र निधि, डा प्रकाश शरण महत र ज्ञानेन्द्रबहादुर कार्की भने जसरी पनि शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा दोहोर्याउने प्रयासमा थिए ।
पहिलो कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री छाड्ने भनेर दिएको वचनबाट देउवा अन्तिम समयमा पछि हटे । त्यो नै प्रचण्डलाई बालकोटमा पुर्याउने निर्णायक क्षण बन्यो ।
लोकान्तर अनलाइन डट कम बाट साभार