समाचारदाता
नेपालगन्ज, जेठ २३ । बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको तातो हावा परियोजना अन्तर्गत बिद्यालयका बालबालिकालाई गर्मीबाट जोगाउने अत्यावश्यक सामग्री वितरण गरिएको छ ।
बिद्यालयका बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउन क्लबले युके एड स्टार्ट फण्डको सहयोग र कतार च्यारिटी नेपालसँगको सहकार्यमा सञ्चालन गरेको सो परियोजना अन्तर्गत बर्दियाको गुलरियास्थित श्री नेपाल राष्ट्रिय शम्भुशरण माबि र जानकी माबिका १२३० बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवन जल (ओआरएस) र ग्लुकोज पाउडर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको छ ।
वितरण कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष, प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै गुलरिया नगरपालिकाका मेयर यादवले तराई क्षेत्रमा अत्याधिक गर्मीको समयमा जोखिममा परेका बालबालिकालाई राहत प्रदान गरिएकोमा सहयोगी संस्थाहरुलाई धन्यवाद दिंदै सही समयमा सही कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
गर्मीको बेला सुरक्षित र स्वस्थ रहन अत्यावश्यक सामग्री पाएपछि बालबालिकाहरु हर्षित भएका थिए । कतार च्यारिटीका परियोजना संयोजक केफस महर्जनले विद्यार्थीहरूलाई गर्मीको लहरका लक्षणहरू र सुरक्षित रहन अपनाउनु पर्ने सावधानीहरूबारे सो अवसरमा बिस्तृत रुपमा जानकारी गराउनुभयो ।
बालबालिकाले त्यहाँ प्राप्त भएको जानकारीलाई परिवारका अन्य सदस्यहरू र साथीहरूसम्म पनि पुर्याउने प्रतिवद्धता जनाएका थिए ।
बाँके युनेस्को र कतार च्यारिटीको टोलीले विद्यालय परिसरमा बालबालिकाको चिसो र सुरक्षित खानेपानीको सुविधा र हाइड्रेटेड हुनको लागि जडान गरिएको वाटर कुलिङ सिस्टमको पनि अवलोकन गरेको थियो ।
सोही अवसरमा अत्यधिक गर्मीले मजदुरी गर्न नपाएका नगरपालिकाका १५० विपन्न घर परिवारलाई चामल, तेल, चना, सतुवा, पीठो, चिनी र अण्डा जस्ता खाद्यवस्तुहरू बितरण गर्नुका साथै उनिहरुलाई गर्मीबाट जोगाउन छाता, गम्छा, औषधियुक्त लामखुट्टेको झुल र चप्पल समेत वितरण गरिएको थियो ।
ती दुबै बिद्यालयमा गर्मीबाट बिद्यार्थिलाई राहतका लागि सिलिंग पंखाहरु प्नि जडान गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।