समाचारदाता
नेपालगन्ज, असार १२ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित श्री ज्ञानोद्धय नमुना माबिमा सञ्चालित बालिका शिक्षा कार्यक्रमको जिल्ला स्तरीय संयुक्त अनुगमन गरिएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा बुधवार सो संयुक्त अनुगमन गरिएको हो ।
बिद्यालयमा जलवायु न्याय क्लबमा आबद्ध बालिकाहरुको क्षमता मापन तथा कार्यक्रमको प्रभावकारिताका बिषयमा गरिएको अनुगमन कार्यक्रमा उपस्थित बालिकाहरुले जलवायु परिवर्तन र त्यसको प्रभाव बारे बिस्तृत रुपमा जानकारी गराएका थिए ।
कक्षा ९ का छात्राहरु शाहीना खान, एलिसा एमसी र काश्मिन खान लगायतले निर्धक्क भएर जलवायु परिवर्तनको कारण, त्यसले पार्ने प्रभाव र त्यसबाट जोगिने उपायहरुको बारेमा सिकेका कुराहरु सुनाएका थिए ।
बालिका शिक्षा कार्यक्रम अतिनै प्रभावकारी भएको जनाउँदै वडा नम्बर तीनका वडा अध्यक्ष पूर्ण बहादुर भण्डारीले यो कार्यक्रम फेजआउट हुन लागेपनि वडा कार्यालयले यसलाई निरन्तर जारी राख्न बजेट नै छुट्याउन लागेको बताउनुभयो ।
उहाँले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु अतिनै आवश्यक देखिएको पनि बताउनुभयो ।
ज्ञानोद्धय नमुना माबि बिद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिमसरा भण्डारीले यो कार्यक्रमले बालिकाहरुमा ठुलो परिवर्तन ल्याएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले जलवायु परिवर्तनका बिषयमा सञ्चालित कार्यक्रम अतिनै प्रभावकारी रहेको वालिकाहरुको अनुभव, अभिभावकको भनाई र बिद्यालयको प्रतिक्रियाले प्रमाणित गरेको बताउनुभयो ।
उहाँले यस्तो कार्यक्रमलाई स्थानीय सरकारले अपनत्व ग्रहण गरि अगाडी बढाएकोमा झनै खुशी बनाएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उप प्रमुख सिता कार्की, शिक्षा समन्वय इकाई प्रमुख धनसुधन चौलागाइ, खजुरा गाउँपालिका सामाजिक विकास समिति संयोजक कृष्णा पोख्रेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, निर्मल रेग्मी, महिला तथा वालवालिका शाखा प्रमुख सुसिला न्यौपाने, गैर सरकारी संस्था महासँघ बाँकेका सचिब रमेश सिटौला, शिक्षक, अभिभावक र सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
वालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सहजिकरण गरेको अनुगमन कार्यक्रममा स्वागत बासका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गर्नु भएको थियो भने कार्यक्रमको प्रगतीको प्रश्तुतीकरण बासका सिनियर सामाजिक परिचालक जमुना चौधरीले गर्नु भएको थियो ।
सो अवसरमा बासद्धारा विद्यालयलाई र विद्यालयद्धारा बासका केन्द्रिय अध्यक्ष शिव कुमार वर्मा र कार्यक्रम संयोजक हेमराज भट्ट लगायत कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
संयुक्त अनुगमनको क्रममा बालिका शिक्षा कार्यक्रम अनुगमन चेक लिष्ट अनुरुप जलवायु परिवर्तनका २६ ओटा सत्रहरुका बारेमा बालिकाहरुलाई अनुगमनकर्ताहरुले प्रश्न सोधेका थिए । जसमा जलवायु परिवर्तन, परिवारको संलग्नता, सामग्री सहयोग र उपयोगिता, बिद्यालयको संलग्नता लगायतको बिषय रहेको थियो ।
बिद्यालयको संलग्नताका बिषयमा र कार्यक्रमको प्रभावकारीताका बिषयमा शिक्षकहरुलाई प्रश्न सोधिएको थियो ।