समाचारदाता
नेपालगन्ज, भदौ ८ गते । बाँकेका थारु बाहुल्य गाउँबस्तीमा आइतवार अट्वारी पर्व धुमधामका साथ मनाईंदै छ । यो पर्वलाई भव्य रुपमा मनाउन गत केही दिनदेखि थारु समुदायमा तयारी तिव्र पारिएको थियो ।
महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजा गर्ने सबै तयारी पुरा गरिएको र आइतवार आफन्तजनसंग मिलेर पूजा गर्ने राप्ती सोनारीका हेमन्त चौधरीले बताउनुभयो ।
उहाँले आइतवार अधिकांश थारु समुदायका पुरुषहरु दिदीबहिनीका लागि ब्रत बसेको पनि बताउनुभयो ।
यस्तै नेपालगन्जका अर्का थारु अगुवा भगतराम थारुले अटवारी विशेषगरी दुई दिन मनाउने जनाउँदै आइतवार दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने तथा सोमवार बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइने बताउनुभयो ।

सोही प्रकारले बाँके बिनौनाका थारु अगुवा बिमला चौधरीले दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दर्शाउने विशेष अवसर नै अटवारी पर्व भएकोले आफुहरुले वर्षभरि यसको प्रतिक्षा गर्ने बताउनुभयो । उहाँले परिवार भित्र सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा पनि ‘अटवारी’ लाई लिइने गरिएको बताउनुभयो ।
बाँके मैटहवाका थारु अगुवा दिपेन्द्र चौधरीका अनुसार थारु समुदायमा रहँदै आएको प्रचलित किंवदन्ती अनुसार कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेका थिए । सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रही आएको छ ।

उहाँले व्रत लिएर आइतवार बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि खानाको परिकार ‘अग्रासन’ छुट्याइने बताउनुभयो ।
त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर जानेछन् । अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्वका साथ लिने गरेको थारु अगुवाहरको भनाई छ ।
अट्वारी पर्व नारी सम्मान र दिदि बहिनीको माया सम्बन्धलाई प्रगाढ बनाउने पर्वका रुपमा पनि स्थापित भएको छ ।
