‘पिडितको जाहेरी दरखास्त नलिएको भन्ने आरोप गलत र असत्य हो’
समाचारदाता
नेपालगन्ज, पुस २८ गते । डुडुवा गाउँपालिका ४ मा जबरजस्ती करणी गरिएको भनिएको घटना सम्बन्धि जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालय बाँकेले लिन नमानेको भन्ने भनाइ असत्य भएको जनाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेले खण्डन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दीपक पातलीद्वारा जारी गरिएको बिज्ञप्तीमा सो जानकारी गराउँदै नाबालिक माथि भएको जबरजस्ती करणी जस्तो गम्भिर प्रकृतीको मुद्दामा यस कार्यालयले चासो नदिएको, अनुसन्धान नगरेको, जाहेरी दरखास्त नलिएको, बिभिन्न दवाब र प्रभावमा परेको तथा पीडितलाई बेवास्ता गरेको भन्ने कुरा पूर्णरुपमा असत्य र गलत भएको दावी गरिएको छ ।
पीडित भनिएकी बालिका पुस १७ गते बाँके प्रहरीको सम्पर्कमा आउने वित्तिकै सोही दिन बिस्तृत स्वास्थ्य परीक्षण लगायतको प्रारम्भिक अनुसन्धान कार्य गरिएको प्रहरीले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘पीडित बालिकालाई लिएर आउने सहजकर्ता मार्फत तत्काल जाहेरी दरखास्त ल्याउन आग्रह गरेका थियौँ । हामी सल्लाह गरी आउँछौं भनी फिर्ता भएपछि सम्पर्कमा नआई पुस २२ गते पीडित बालिकाको आमाको नामबाट हुलाक मार्फत यस कार्यालयमा जाहेरी दरखास्त प्राप्त भएको हो ।’

हुलाकबाट प्राप्त जाहेरी सनाखत पश्चात मात्र दर्ता गर्नुपर्ने मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को परिच्छेद २ को दफा ४ को (३ क) मा ब्यवस्था भएको हुँदा सोही अनुसार जाहेरवालालाई सम्पर्क गर्दा सम्पर्क हुन नसकेको पनि विज्ञप्तिमार्फत प्रहरीले स्पष्ट पारेको छ ।
विज्ञप्तीमा अगाडी भनिएको छ–‘पीडित ब्यक्तिको घर ठेगानामा प्रहरी गई सम्पर्क गर्न खोज्दा समेत घर ठेगानामा नभेटिएको हुँदा जाहेरवालालाई यस कार्यालयको सम्पर्कमा ल्याईदिन निजका आफन्त, सम्बन्धित संस्था र छिमेकीहरुलाई समेत पटक–पटक अनुरोध गरेकोमा जाहेरवाला हालसम्म यस कार्यालयको सम्पर्कमा नआएको हुँदा जाहेरी दर्ता हुन नसकेको ब्यहोरा सम्बन्धित सरोकारवाला सम्पूर्णमा जानकारी गराउँदछौं ।’
यस्ता गम्भिर घटनालाई यस कार्यालयले अत्यन्त संवेदनशिल भई घटनाको गहन ढंगले अनुसन्धान गरिरहेको र निरन्तर गरिनै रहेने प्रतिवद्धता जाहेर गर्दै पीडित पक्षलाई प्रहरीको अनुसन्धानमा विश्वास गरी कुनै दवाब प्रभावमा नपरी यस कार्यालयको सम्पर्कमा आई जाहेरी दरखास्त सनाखत गरी अनुसन्धान कार्यमा सहयोग गर्नहुन प्रहरीले अपील गरेको छ ।
नेपाल प्रहरी सदैव नागरिकको सेवामा समर्पित रही, पीडितलाई न्याय दिलाई, पिडकलाई कानूनी दायरामा ल्याई कानूनी राज्यको प्रत्याभुति दिलाउँदै आएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार डुडुवा ४ मा भएको जबरजस्ती करणी र ज्यान मार्ने उद्योग दुबै घट्ना ठुलो अपराध भएकोले प्रहरीले दुबै घट्नाको अनुसन्धान गरेर दुबै घट्नाका दोषीहरुलाई कानुनी दायरामा ल्याएर कडा कारवाही गरिनेछ ।
