भारतीय नागरिकको आकर्षणको केन्द्र बन्दै नेपालगञ्ज
सिराज खान
नेपालगञ्ज, फागुन १४ । भारतीय सिमानासँग जोडिएको र पश्चिम नेपालको प्रमुख केन्द्र बनेको बाँकेमा रहेका विभिन्न पर्यटकीय गन्तव्यले नेपाली र भारतीय पर्यटकलाई आकर्षित गरिरहेका छन् । कोरोना सङ्क्रमण घट्दै गएपछि नेपाली र भारतीय पर्यटक आउने क्रम बढेकाले यहाँको पर्यटन व्यवसाय उकालो लाग्न थालेको व्यवसायीले नै बताएका छन् । पर्यटन व्यवसायीका अनुसार पाटेबाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीय गन्तव्यका रूपमा रहेको शक्तिपीठ माता बागेश्वरीको मन्दिर, भुवर भवानी देवीको मन्दिर, नरैनापुरको शिव मन्दिर यहाँका मुख्य गन्तव्य हुन् ।
अहिले मेरो प्लानेट, ह्याप्पी वल्र्ड र वन्डरल्यान्ड जस्ता आधुनिक वाटरपार्कहरू निर्माण भएकाले पर्यटकलाई तानिरहेको छ । कान्तिताल र ढकेरी, अगैया तथा गाभरले पनि ठूलो सङ्ख्यामा पर्यटक आकर्षित गरिरहेका छन् ।
कोरोना महामारी घट्दै जाँदा अहिले बाँक...









