२५ वर्षे विकास यात्राको संघर्ष ः मानवता र सामाजिक रूपान्तरण मुख्य एजेण्डा
अधिवक्ता मीना पराजुली
२३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो मेरो अस्तित्व, पहिचान र भविष्यलाई नयाँ दिशातर्फ मोड्ने ऐतिहासिक क्षण थियो। स्थापित वकालत पेशाबाट बाहिरिने निर्णय सहज थिएन, तर त्यस निर्णयभित्र समाजसँग जोडिने, मानिसहरूको जीवनमा अर्थपूर्ण योगदान गर्ने र सामाजिक रूपान्तरण को यात्रामा समर्पित हुने गहिरो आह्वान थियो।
पूर्वका झापा–मोरङका हरिया फाँटहरूबाट सुरु भएको मेरो पेशागत विकास यात्रा आज २५ वर्षको लामो अनुभव बोकेर यहाँसम्म आइपुगेको छ। यो केवल भौगोलिक दूरी पार गर्ने यात्रा मात्र थिएन, यो त संघर्ष, अनुभूति र आत्म–खोजको यात्रा पनि थियो। बागमती, लुम्बिनी, गण्डकी, मधेश, कोशी, कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रहरूमा पुग्दा मैले केवल स्थानहरू परिवर्तन गरिनँ, हरेक ठाउँ र हरेक भेटघाटले मेरो सोचलाई फराकिलो बनायो, संवेदनशीलता गहिरो बनायो र जिम्मेवारीबोध अझ बलियो बन...








